सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आफ्नो नवौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीका अनुसार सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा अध्यक्षको मन्तव्यसहित आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गरिएको छ । साथै, लेखापरीक्षकको प्रतिवेदनसहित सो अवधिको वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू समेत स्वीकृत गरिएको छ । त्यसैगरी, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२÷०८३ का लागि लेखापरीक्षण समितिको सिफारिस अनुसार बाह्य लेखापरीक्षक नियुक्त गर्न पारित गरिएको छ । वर्तमान लेखापरीक्षक श्री एसएआर एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

