काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको छ। निर्वाचन प्रमुख आयुक्त तेजबहादुर कार्कीका अनुसार सोमबार अन्तिम नामावली प्रकाशन गरिएको हो।
संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले सबै पक्षलाई समेटेर तयार पारिएको एकीकृत मतदाता नामावली निर्वाचन समितिलाई पठाएका थिए। सोही नामावलीका आधारमा निर्वाचन प्रक्रिया अघि बढाइएको बताइएको छ।
निर्वाचन समितिले मनोनयन दर्ता प्रक्रिया पनि सुरु गरिसकेको छ। नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। ती प्रतिनिधिहरूले भौतिक तथा अनलाइन दुवै माध्यमबाट मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
संघको अध्यक्ष पदका लागि डा. हेमराज शर्मा र रोविन शेरचनले उम्मेदवारी घोषणा गरिसकेका छन्। यद्यपि महाधिवेशनलाई एकताको सन्देश दिने उद्देश्यले सर्वसम्मत कार्यसमिति गठन गर्नुपर्ने माग पनि विभिन्न पक्षबाट उठिरहेको बताइएको छ।
more Deatils : https://nrna.org/page/election-notice-2026-267