काठमाडौं : एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थी ले सामाजिक सञ्जालमार्फत संस्थाभित्र देखिएको विभाजन र नेतृत्वको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएका छन्।
आफूहरूबीच पद र स्वार्थ नमिलेर माथि NRNA ICC जस्तो माउ संस्था नै फुटाइयो, र त्यसैको प्रभाव स्वरूप तल NCC हरूमा पनि समानान्तर समिति बनाइयो। अब माथि मिलिसकेपछि तल पनि स्वतः मिलाउनुपर्ने जिम्मेवारी र नैतिकता नेतृत्वमा हुनुपर्छ। तर अहिले केही व्यक्तिहरूबाट “दुवै समितिले आ–आफ्नो कार्यकाल चलाओस्, कार्यकाल सकेपछि पछि मिलौँला” भन्ने गैरजिम्मेवार र संस्थागत मूल्यविपरीत कुरा सार्वजनिक रूपमा आउनु अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण विषय भएको पन्थीको भनाइ छ।
उनका अनुसार NCC हरू कुनै सर्कसका बाँदर होइनन्, जसलाई आवश्यकता पर्दा प्रयोग गर्ने र आवश्यकता सकिएपछि बेवास्ता गर्ने। NCC भनेको विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको साझा संस्था हो, जसले ग्राउण्डमा श्रमिकहरूको समस्या बुझ्ने, समुदायसँग सहकार्य गर्ने र दैनिक रूपमा सेवामूलक काम गर्ने जिम्मेवारी वहन गरेको हुन्छ।
पन्थीले पहिले पदका लागि संस्था विभाजन गर्ने, अहिले फेरि पदमा पुग्नका लागि NCC र समुदायलाई प्रयोग गर्ने, अरू बेला सम्पर्क नगर्ने तर भोटका लागि दैनिक फोन गर्ने प्रवृत्तिले नेतृत्वको जिम्मेवारी, नैतिकता र संस्थागत मूल्यप्रति गम्भीर प्रश्न खडा गरेको बताएका छन्।
उनका अनुसार यदि फेरि पनि सहमतिका नाममा केवल पद बाँडफाँड मिलाएर मात्र समस्या समाधान भएको देखाउने प्रयास गरियो भने त्यो दिगो समाधान हुन सक्दैन। यस्तो प्रवृत्तिले संस्थालाई अझ कमजोर बनाउने र समुदायको विश्वास घटाउने मात्र काम गर्छ।
त्यसकारण अब आवश्यक रहेको भन्दै उनले NCC हरूलाई यति बलियो र संस्थागत रूपमा सुदृढ बनाउनुपर्ने बताए कि माथि ICC मा जे भए पनि NCC कहिल्यै विभाजित नहोस्। किनकि वास्तविक रूपमा श्रमिकहरूको दुःख–सुखसँग जोडिएर काम गर्ने, समुदायसँग प्रत्यक्ष सहकार्य गर्ने र दैनिक रूपमा जिम्मेवारी बहन गर्ने संस्था NCC नै भएको उनको धारणा छ।
पन्थीले मध्यपूर्वमा रहेका एनआरएनहरूको अवस्थातर्फ पनि ध्यानाकर्षण गराउँदै उम्मेदवारी दिन प्रत्यक्ष उपस्थित हुनुपर्ने विषय उठाइएकोप्रति प्रश्न गरेका छन्। यस्तो अवस्थामा मध्यपूर्वमा रहेका प्रतिनिधिहरूलाई उम्मेदवारी दिन कसरी सम्भव हुन्छ भन्ने गम्भीर प्रश्न उठेको भन्दै उनले मध्यपूर्वलाई बारम्बार हेप्ने प्रवृत्ति अब सह्य सीमाभन्दा बाहिर गएको उल्लेख गरेका छन्।
अन्त्यमा उनले अब समय आएको भन्दै सबैलाई एकजुट भएर संस्थागत मजबुती, समान सम्मान र स्पष्ट दिशाका लागि सामूहिक आवाज उठाउन आह्वान गरेका छन्।