April 20, 2026
Trending
Follow Us :

भूकम्प केहि दृष्टान्तहरु

                                                                   

मिति २०८०/०६/१६ गते मंगलबार दिउसो २.४० बजे ५.३०, ३.०६ बजे ६.३०, ३.४५ बजे ४.१० हुदै साँझ ५.३८ बजे ५. म्याग्नीच्युडका गरि एकैदिन बझांगमा दर्जनभन्दा बढी भूकम्पका धक्कहरु महसुस गरिए । प्रारम्भिक रिपोर्टहरुका अनुसार हालसम्म १ जनाको मृत्यु, १७ घाईते र १३५ भन्दा बढी निजि आवासहरु भत्किएको जनाइएकोछ । सोहि दिन दिउसो २.४२ बजे बाजुरामा पनि ५.३ म्याग्नीच्युडको भूकम्प जादा २ जना घाइते भएको खबर आयो । उनीहरु छानाको ढुंगा खसेर घाइते भएकाथिए । यसअघि  २०७९ साल, कार्तिक २३ गते बुधबार राति २.१२ बजे डोटीमा गएको ६.६ म्याग्नीच्युडको भूकम्प सो क्षेत्रको सबैभन्दा ठुलो भूकम्प थियो । यो ठुलो भूकम्प जानु लगत्तै अगाडी ९.०७ बजे र ९.५६ बजे २ वटा स-साना पुर्वकम्पहरु गएका थिए । उक्त कम्पनमा ६ जनाको ज्यान जानुकासाथै दर्जनौ घरहरु भत्किएका थिए । यो नै २०७२ सालको गोरखा भूकम्प पछिको दोश्रो ठुलो र बिनाशक भूकम्प थियो । सन् १९८० मा बझांगमा ६.६ म्याग्नीच्युड कै भूकम्प जाँदा १७० जना मान्छेको ज्यान गएको र १००० बढी घरहरु भत्किएका थिए । त्यसको ४३ वर्ष पछी  गएको समान क्षमताको डोटीको यो भूकम्प सुदूरपश्चिमको पहिलो र ठुलो भूकम्प थियो । अहिले बझांगमा फेरी त्यस्तै क्षमताको कम्पन दोहोरियो ।

मिति २०७९/१०/१० मा  बाजुरामा ५.२ म्याग्नीच्युडको भूकम्प गयो ı बिछ्यामा केन्द्रविन्दु भएको भनिएको उक्त भूकम्पले ८ वटा घर, २ वटा स्वास्थ्य चौकी र एउटा बिद्यालयमा क्षति पुर्यायो । मिति २०८०/०१/१८ गते दिउसो २.३५ बजे हुम्ला केन्द्रबिन्दु भएर ४.०० म्याग्नीच्युडको अर्को भूकम्प गयो । यसैगरी, २०८०/०१/२१ बिहिबार दिउसो १.१७ बजे बाजुरा केन्द्रबिन्दु भएर ४.१ म्याग्नीच्युडको भूकम्प गयो ı फेरी, २०८०/०१/२४ गते बिहिबार राति ११.५८ बजे ४.९ म्याग्नीच्युड र लगत्तै शुक्रबार राति १.३० बजे ५.९ म्याग्नीच्युडको भूकम्पले बाजुरा थर्कियो ı यी दुवैको केन्द्रबिन्दु दहकोट थियो I

२०८०/०१/२८ गते बिहिबार ५.१५ बजे बिहान फेरी बाजुरामै ४.३ म्याग्नीच्युडको अर्को भूकम्प गयो I मिति २०८०/०२/०७ गते आइतबार बिहान बाजुराको हुकाम केन्द्रविन्दु भएर  ४.१ म्याग्नीच्युडको भूकम्प गयो I लगत्तै ८ गते सोमबार साँझ ६.५४ बजे उही जिल्ला कै बिछ्या वरपर केंद्रविन्दु भएर अर्को  ४.१ म्याग्नीच्युडकै भूकम्प गयो I मिति २०८०/०२/१० गते बिहान ४.०६ बजे बझाङको दौलीचौर आसपास भएर ४.५० म्याग्नीच्युडको भूकम्प गयो I मिति २०८०/०२/२९ गते बिहान ७.३८ बजे फेरी बाजुराकै बिछ्या केन्द्रबिन्दु भएर ४.४ म्याग्नीच्युडको भूकम्प गयो । मिति २०८०/०३/२५ गते सिन्धुपाल्चोकको बाह्रबिसे आसपास केन्द्रविन्दु भएर ३.८ म्याग्नीच्युडको भूकम्प गएको केहि दिन पश्चात मिति २०८०/०३/२८ गते फेरी, कर्णालीकै हुम्लाको कालिका आसपास केन्द्रविन्दु भएर बिहान ११.१७ बजे फेरी ४.६ म्याग्नीच्युडको अर्को भूकम्प गयो । मिति २०८०/०६/१६ दिउसो २.४२ बजे तलकोट केन्द्रविन्दु भएर बाजुरामा ५.३ म्याग्नीच्युडको भूकम्प गयो । यसरी हेर्दा, २०७९ माघ देखि २०८० असोजको को तेश्रो हप्तासम्म नापी भएका र भेटिएका भूकम्पहरु बाजुरामा मात्रै महिनाको औसत १.८ भन्दा बढी परेको छ I

बितेका १८ महिनामा ४ म्याग्नीच्युड भन्दा माथिका ७७ वटा भूकम्पहरुमध्ये ४६ वटा त कर्णाली र सुदुरपश्चिममा  मात्रै गएका देखिन्छन । शायद पहिला भूकम्पमापन स्टेशनहरु न्यून र सिमित क्षेत्रमा मात्रै थिए कि वा यस्ता स-साना कम्पनहरुको जानकारी सार्वजनिक गरिदैनथियो । यहाँ पनि सबैबेलाको सबै फेहरिस्त प्रस्तुत गर्न खोजिएकोहैन । एउटा सानो कालखण्ड वा समय रेखाभित्र नजर लगाउने/चियाउने प्रयत्न गर्दा यस्तो देखियो । भूकम्पहरू पहिला पनि पक्कै जान्थेहोला  । रेकर्डमा रहेनन् वा भूकम्पको उत्सर्जन आबृत्ति (फ्रिक्वेन्सी) बढेको हो ।

यसरि स-साना कम्पनहरुको उत्सर्जन लगातार जस्तो भै नै रहँदा २०७९ असोज महिनाको १६ गते सम्म  सुदुरपश्चिममा १२ पटक भूकम्प गए । क्षति नगन्य थियो, तसर्थ सबै तहका सरकारहरु आ-आफ्नै दैनिकीमा थिए । तर हामीले अनुमान नगरेको क्षति र दु:ख बाँकी नै रछ । मिति २०८०/०७/१७ गते मध्यरातले त्यसपछिका सुर्योदयहरु पनि ग्रहण जस्तै भए । मिति २०८०/०७/१७ गते राति ११.४७ बजे जाजरकोट जिल्लाको बारेकोट गापा-१ रामीडाँडा केंद्रबिदु भएर ६.४ म्याग्नीच्युडको भूकम्प गयो । भूकम्पीय बर्गिकरणमा यो मापसम्मको भूकम्पलाई मध्यम श्रेणीमा राखिनेगरेको भएतापनि यसले नसोचेको क्षति गर्यो । जाजरकोट र पश्चिम रुकुम पूर्णत ध्वस्त भए । यी सहित अरु थप १० जिल्लाहरुमा उक्त भूकम्पले असर गर्यो  । उत्तरमा बाजुरा, पश्चिममा अछाम, पूर्वमा स्याङ्जासम्म प्रभाव छोड्दै  उक्त भूकम्प दक्षिणको नवलपरासी पूर्वमा गएर समाप्त भयो । रास्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रको प्रारम्भिक रिपोर्टहरु अनुसार हालसम्म २६५५७ निजि घर पूर्ण, ३५४५५ निजि घर आंशिक क्षतिमा परेका छन । प्रभावित सबै जिल्लाहरुमा गरेर ७५००० बढी निजि घरहरुको पुनर्निर्माण गर्नुपर्ने देखिएको बताइएको छ । भूकम्पमा परेर तत्कालै १५७  जनाको मृत्यु भयो  र ३०० बढी नै घाइते भए । करिब ६८००० जना विस्थापित भएकाछन । भूकम्पपछी उपचाररत अवस्थामा, चिसो र उचित स्याहारको अभाबमा १ महिने शिशुसहित हालसम्म थप १६ जनाको मृत्यु भैसकेको छ । कर्णाली प्रदेश भरि ५४ वटा प्रहरी कार्यालयहरु र ३०० बढी विद्यालयहरु भत्किए । पुनर्निर्माणमा ६८ अर्ब भन्दा बढी रुपैया लाग्ने अनुमान गरिएको छ । ६.४ म्याग्नीच्युडको भनिएतापनि अमेरिकन भौगर्भिक सर्भे (युयसजीयस) का अनुसार जाजरकोट भूकम्पको माप ५.६ म्याग्नीच्युड र हाइपोसेन्टर (उत्पन्न बिन्दु) जमिनको सतहबाट १५-१७.९ किमी गहिराईमा थियो ।  रास्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पपछी उक्त क्षेत्रमा हालसम्म ६०६ वटा परकम्प (आफ्टरशक)हरु गैसकेका छन ।

नेपालमा मेरो पुस्ताले भूकम्पको स्वाद क्षेत्रीय रुपमा चाखेको छ I बि.स.१९९० साल माघ २ गते सोमबार दिउसो २.२८ बजे गएको भूकम्पको अनुभब र असर खपेका जीवित हरु धेरै कम हुनुहुन्छहोला I पातलो वस्ती र सुचनाको कमि त्यतिखेरका फाइदा र दु;ख दुवै थिए  अर्थात्, वस्ती पातलो हुँदा, घर भत्किने सम्भावना कम र भागेर बच्ने खुल्ला ठाउ धेरै हुने भयो भने, सुचना को अभावमा यथार्थ घटनाहरु बाहिर आउन नसकेकाहुनेभए I त्यसैले जे दस्तावेजीकरण भयो, हामीले मान्ने त्यसैलाई हो I यो भूकम्प पनि देशको मध्य र पूर्वी भागमा मात्र गएकोले क्षेत्रीय थियो I उक्त भूकम्प ८ म्याग्नीच्युड थियो भनिएकोछ I  यसको ५५ वर्षपछि बि.स. २०४५ साल भाद्र ४ गते शनिबार बिहान ३.४५ बजे ६.८ म्याग्नीच्युडको भूकम्प हो, मैले अनुभब गरेको पहिलो भूकम्प I यसको असर र क्षति पनि पूर्वमा बढी हुँदै मध्यक्षेत्र छोएर सकियो I अहिलेसम्म पनि सुनकोशी कोरिडोर हुदै पूर्वतिर ‘४५ सालको भूकम्प’ नामले यो परिचित छ । तसर्थ यो पनि क्षेत्रीय थियो I 

मैले भोगेको दोश्रो विनाशकारी भूकम्प २०७२ साल बैशाख १२ गते शनिवार बिहान ११.५६ बजेको  केन्द्रबिन्दु गोरखाको वारपाक र दरौंदी बिचको भित्तो मांद्रेको ७.८ म्याग्नीच्युडको  थियो I यो भूकम्प ले पनि उदयपुर  र लम्जुंग (सामान्य धक्का पूर्वमा खोटांग र पश्चिममा बाग्लुंग सम्म महसुस गरिएको) बिचको जमिन र यसका संरचनाहरुलाई नराम्ररी असर गर्यो I खासमा यो पनि पश्चिम छोइएको मध्य-क्षेत्रीय भूकम्प भएपनि, देशको ठुलो जनसंख्याले यसको असर र पीडाको अनुभव गरेको महाभूकम्प हुनुपर्छ, किनकि सम्पूर्ण नेपालको परिवारको कुनै न कुनै सदस्य काठमाडौँमा थिए I  काठमान्डू लगायत नेपालको मध्य क्षेत्र ८२  वर्षको अन्तराल मै २/२ पटक नराम्ररी थथर्किएको छ, चिरिएको छ र केहि मात्रामा चिप्लिएको छ I यसो हुनुमा नेपाल, इन्डीयन र युरेसियन (तिब्बेतियन) प्लेटको घर्षणको बिचमा रेहेकोले हो भन्छन भूगर्भविद र भूकम्पविदहरु । धेरै समयसम्म थुप्रिएको भुगर्भको शक्तिले  (बाहिर) उत्सर्जन हुनखोज्दा, पृथ्वी भित्रको आन्तरिक पदार्थ (म्याग्मा) को बहावमा गडबडी हुदा वा प्लेटहरु सर्दा/नमिल्दा भूकम्प जाने गर्दछ । वास्तविक समयको घोषणा गर्न नसकिएतापनि ५० – ४५० वर्षको अन्तरालमा ठुला परिमाणका भूकम्पहरु गएका इतिहास छन । भूकम्प नजाओस,धनजन क्षति नहोस, यो हाम्रो चाहना हो, तर यिनीहरुको प्रकृति दोहोरिरहने खालको हुन्छ । भूकम्प संहिताको अनुसार यस्को दोहोरिने अवधि ४७५ वर्षलाइ मानिएको पाईन्छ (एनबिसी: १०५:२०७७) ।

विश्व परिदृश्यमा नेपाल,  जलवायु परिवर्तनको हिसाबले चौथो, भूकम्पीय जोखिमको हिसाबले ११औ, बहु-विपदजन्य जोखिमको हिसाबले २०औ  र बाढीजन्य जोखिमको हिसाबले ३०औ स्थानमा पर्दछ भन्छन -बिभिन्न रिपोर्ट र यिनका विज्ञहरु । अहिलेको लेख भूकम्पमा मात्रै केन्द्रित छ ।

अध्ययन अनुसार, नेपालमा सन १२५५, जुलाई ७ मा काठमान्डूलाइ केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्युडको महाभूकम्प गएको पाईन्छ । त्यसले काठमान्डू देखि पूर्व सम्मलाई असर गर्यो र २२०० जनाको मृत्यु भएको भनिएको छ । सो भूकम्पमा परि राजा अभय मल्लको समेत मृत्यु भएकोथियो । त्यसपछि सन १४०८ अगस्टमा तत्कालिन बागमती अंचलको नेपाल तिब्बत सीमामा ८.२ म्याग्नीच्युड, सन १७६७ को जुलाईमा बागमतीकै उत्तरमा ७.९ म्याग्नीच्युडको, सन् १८३३, अगस्ट२६ मा काठमान्डू नजिकै केन्द्रविन्दु रहेको ८.० म्याग्नीच्युडको काठमान्डू-बिहार भूकम्प गयो । यसको १०१ वर्ष पछी अर्थात् वि.स. १९९० माघ २ गते  (सन १९३४, जनवरी १५) मा यहि मध्य-भागलाई ताकेर अर्को ८.० म्याग्नीच्यु डको काठमान्डू-बिहार महाभूकम्प गयो यस् भूकम्पले बिहारका मुंगर र मुजफ्फरपुर अनि नेपालको काठमान्डू नराम्ररी ध्वस्त भयो । । यसमा मृत्यु भएका भनिएका लगभग १२,००० जना मध्ये ४००० जति त काठमान्डू उपत्यका भित्रकै थिए (नेसनल जियोफिजिकल डेटा सेन्टर एण्ड हिस्टोरिकल अर्थकोएक्स् इन नेपाल) । सम्भवत: अरु ठाउको यथार्थ तथ्यांक र सूचना आउन सकेनहोला । लगत्तै ८२ वर्षपछी  बि.स. २०७२ साल बैशाख १२ गते मध्य-नेपालकै गोरखा केन्द्रविन्दु भएर ७.८ म्याग्नीच्युडको अर्को विनाशकारी महाभूकम्प गयो त्यो हामि धेरैलाई थाहा छ ।  त्यो महाविनाशमा थुप्रैले नसोचेको व्यहोरे, हेरिरहे, रोए र विक्षिप्त भए । उक्त भूकम्पमा परेर करिब ९००० जनाको मृत्यु, पूर्ण र आंशिक गरि ८लाख ८५ हजार निजि घरहरु, ११९७ स्वास्थ्य संस्थाहरु, १३ हजार बढी सांस्कृतिक सम्पदाहरु, ४१४ सरकारी भवन, ७५५३ बिध्यालयहरु र २१६ भन्दा बढी सुरक्षा निकायका भवन हरुमा क्षतिपुग्यो । यो भूकम्पले मध्यक्षेत्रकै १४ जिल्लाहरुमा पूर्ण र ३२ जिल्लाहरुमा आंशिक प्रभाव पार्यो । २०७२ साल बैशाख १३ गते दिउसो १.४५ बजे र २९ गते दिउसो १२.५१ बजे फेरी २ ठुला पाराकंपहरु गए । २९ गतेको पाराकंपमा परेर थप २०० बढीको मृत्यु भयो ।

अब पूर्वी-क्षेत्र हेरौ । सन १२६० मा सगरमाथा केन्द्रविन्दु भएर ७.१ म्याग्नीच्युडको, सन १३४४ मा मेचीक्षेत्र केन्द्रविन्दु भएर ७.९ म्याग्नीच्युडको र सन १६८१को जनवरीमा कोशी अंचलको उत्तरीक्षेत्र केन्द्रविन्दु भएर ८.० म्याग्नीच्युडको भूकम्प गएको देखिन्छ । यसरि हेर्दा पूर्वी नेपाल (दोलखापूर्व) मा ७.१ म्याग्नीच्युड माथिका  ठुला भूकम्पहरु ८४ देखि ३३७ वर्षको अन्तरमा गएका छन र सन १६८१ पछी सो क्षेत्रमा ठुलो भूकम्प नगएको ३४२ वर्ष भैसकेको छ । सन १५०५ पछी पश्चिम नेपाल (लमजुङ्गपश्चिम) मा महाभूकम्प नगएको ५१८ वर्ष बितिसकेको छ ।

यसरि हेर्दा मध्य-क्षेत्र बाहेक हाम्रा अन्य २ क्षेत्रहरु सङकटासन्नताको अवस्थामा छन भनेर बुझ्न सकिन्छ । दोलखा पश्चिम र लम्जुंग पूर्वको मध्यक्षेत्रमा  उक्त मापका ठुला भूकम्पहरू कम्तिमा ६६ वर्ष र बढीमा ३५९ वर्षको अन्तरमा गएका देखिन्छन । सन १७६७ पछी सन २०१५ सम्ममा  ६६, १०१ र ८२ वर्षकै अन्तरहरुमा काठमान्डू वरिपरी नै वा यसैलाई केन्द्रित गरेर ७.९ देखि ८.० म्याग्नीच्युडका ४ वटा भूकम्प गैसकेका छन । सोचौ, यो भूगोल कति थथर्किएको,खल्बलिएको वा सरेको होला । फेरी, धेरै भूकम्पहरु प्राय: मे देखि अगष्ट बिचमा गएका देखिन्छन । यसको कारण कतै अति सुख्खा र अति वर्षातको पनि असर हो कि? जमिनमा भारै नहुनु वा वर्षातले जमीनमा भार थपिनु, जमिन गाल्नु वा जमिनभित्र पानी छिर्नुले जमिनमा फरकपना ल्याएर तरङ्ग ल्याउनमा भूमिका खेलेको हो कि ? जे होस, के भन्न सकिन्छ भने, थोरै अन्तरालमा ठुल्ठुला धक्काहरु गैरहनुको अर्थ के हुनसक्छ भने, यो क्षेत्रमा जम्मा भएको आन्तरिक शक्ति पुरै उत्सर्जन भैसकेकोछैन र खल्बलिएको क्रस्ट (पृथ्वीको सतहदेखि १०० किमी तलसम्मको तह) र मेन्टल (क्रस्ट मुनिको तह) स्थिरिकरण भैसकेकोछैन ।  मध्य क्षेत्रमा दुइटा कुरा चाहि पक्का छन्, जस्तै: सोचिएको भन्दा कम अवधिमा ठुल्ठुला धक्काहरुले ठुल्ठुला आन्तरिक शक्तिहरु उत्सर्जन गराएकाछन भने, नेपालका प्रमुख तिन ठुला पूर्व -पश्चिमी दरार (फल्ट) हरुमध्ये, काठमान्डू महाभारतीय दरार वा होचो हिमालय दरार वा एमबिटी र एमसिटिको बिचमा पर्ने भएकोले चुरे र हिमालय क्षेत्रको ठुलो दबाब झेलिरहेको छ र आफ्नै बनोट पनि कडा चट्टानमा नभई बाक्लो बालुवाको तहले निर्मित छ ।

माथि नै भनियो, नेपाल भूकम्पीय जोखिम क्षेत्रमा अवस्थित छ भनेर ।  युरेसियन प्लेट मुनि रहेको इन्डियन प्लेट प्रतिवर्ष २ सेमी का दरले नेपाल तर्फ सरिरहेको छ भन्छन विज्ञहरु । त्यसरी सर्दा सजिलै घुस्न नपाएपछी प्लेट/हरु चिप्लिने गर्छ/न र खतरनाक कम्प आउने गर्छ । लामो समय भूकम्प नजानु भनेको जमिन भित्र ठुलो शक्ति संचित हुनु हो । यो शक्ति कुनै सानो निहु मात्रै पाएमा कमजोर क्षेत्र फुटालेर बाहिर उत्सर्जन हुने सम्भावना हुन्छ । लामो समय भूकम्प नजानु भन्दा समय समयमा स-साना धक्काहरु गईरहनु शक्ति उत्सर्जनको हिसाबले ठिक मानिन्छ । तर ति क्षेत्रहरु सुरक्षित र ठिक छन् भन्ने चाहि हैन, अर्थात  गर्भमण्डलका प्लेटहरु अस्थिर अवस्थामै छन् भन्ने हुन्छ, अनि बारम्बारको थर्थराहटले सतहको जमिन पनि असन्तुलित कमजोर बन्न जान्छ । तसर्थ , सबै कारणहरु किटेर भन्न सकिने अवस्था पनि छैन किनकि नेपालमा मात्रै नभएर विश्वमै ६० वर्ष भन्दा अगाडिको भूकम्पको वैज्ञानिक डेटा र विश्लेषणहरु नभएको बताइन्छ । हजारौ वर्ष अगाडिदेखि भूकम्प गैरहेको भएपनि वास्तविक वैज्ञानिक कारणहरु सार्वजनिक भएका छैनन, अर्थात ६० वर्ष यतादेखिमात्र राम्ररी वैज्ञानिक विश्लेषण, पूर्वानुमान र समाधानका उपायहरु खोजिन र सुत्रबद्ध गरिन थालेका भेटिन्छन । अझै पनि भूकम्प दोहोरिने समयको अनुमान, आउन सक्ने तीव्रता,प्रकार, ओगट्न सक्ने क्षेत्र र सुरक्षित क्षेत्रको सुनिश्च्चितता गर्न सकिएको अवस्था छैन।

करिब ६ करोड वर्ष पहिले युरेसियन प्लेट र इन्डीयन प्लेट एक आपसमा ठोक्किदा हिमालको उत्पत्ति भएको अनुमान छ I घनत्वमा समान भएका भएका कारण यी दुई प्लेट एक-आपसमा विलिन भएनन । इन्डियन प्लेट वा अहिलेको भारतवर्ष यसैगरी करोडौ वर्ष पहिले अहिलेको अफ्रीका महाद्विपबाट छुट्टीएर अहिलेको अवस्थामा आइपुगेको मान्छन भु-गर्भविद्हरु I अहिलेको इन्डियन प्लेट उत्तरी युरेसियन (तिब्बति) प्लेट भन्दा सानो र कमजोर छ तर निरन्तर युरेसियन प्लेटमा घुस्रीरहेको (वार्षिक २.०-४.८ सेन्टिमिटरका दरले) छ । यसरि घुस्रिनजाँदा सरक्क युरेसियन प्लेटमा छिरे त केहि नहुनेभो, तर चेप मिलेन भने ठक्कर खाने भो वा किच्चिने भो । यसरि किच्चिदा कमजोर प्लेट पट्टिका आन्तरिक लाभा र टेक्टोनिक प्लेटहरुमा धक्का, चिरा र स्थान परिवर्तन देखिने भो । त्यो अवस्था जमिनको सतहबाट कति गहिराईमा पर्यो, त्यसको आधारमा भूसतहमा कम्पन र क्षति निर्धारण हुने भो । त्यसको आधारमा भूकम्पको म्याग्नीच्युड तोकिने भो । यसरि जमिन भित्र उत्सर्जित ति भयानक तरङ्गहरुको बाढी वा भंगालोको प्रवाहले कडा र खदिलो जमिनबाट द्रुततर गतिमा पार हुदै दलदले र कमजोर जमिनलाई चिर्दै आफ्नो प्रभावक्षेत्र बढाउदै जान्छ र अन्तिममा कमजोर भै सकिन्छ । यसरि तरङ्ग/भूकम्प उत्सर्जित/सुरुहुने स्थानलाई हाइपोसेन्टर र ति भूकम्पका तरंगहरु क्रमशः माथितिर बढ्दै  भू-सतहमा ठोक्किने स्थानलाई इपिसेंटर भन्ने चलन छ ।  नेपाल ठ्याक्कै तिनै युरेसियन र इन्डियन टेक्टोनिक प्लेटहरुको मिलनविन्दु वा चेपमा अवस्थित भएकै कारण अधिक भूकम्पीय जोखिममा छ ।

२०८१ साल पुष २३ गते मंगलबार बिहान ६.५२ बजे तिब्बत केन्द्रबिन्दु भएर ७.०० म्याग्नीच्युडको भूकम्प गयो । तिब्बतमा करिब १३० जनाको मृत्यु भएको जानकारी आयो । यो भूकम्पको महसुस नेपाल हुँदै भारतसम्मै गरिएको समाचारहरु आए । यसरी बारम्बार स-सानादेखि ठुला क्षमताका भूकम्पहरु आईरहनुले के देखाउँछ भने समग्र हिन्दुकुश हिमालय क्षेत्र (करिब ३५०० किमी लम्बाईको अफगानिस्तान, बंगलादेश, भुटान, चिन, भारत, म्यान्मार, नेपाल र पाकिस्तान सम्म फैलिएको हिमालय क्षेत्र) भूकम्पको जोखिममा छ ।  यसमा भारतीय प्लेट बिस्तारै तिब्बेतियन प्लेटमा घुसिरहेकोछ । यसरी निरन्तर घुस्दै जाँदा डीलेमिनेट (delaminate) भएर कि त इन्डियन प्लेटको केहि भागहरु टुक्रिएर छुट्टिन्छन वा तिब्बेतियन प्लेटमा घुसेर गायब हुन्छन । यो प्रक्रियाको सिमा भनेको हाम्रो हिमालय क्षेत्र हो । वार्षिक हिमालय क्षेत्रहरु कति अग्लिरहेका छन ? कसैसंग डेटाबेस छ/छैन, थाहाभएन, तर प्लेटहरुको घुसाईमा डिलेमिनेट भैरहेको, त्यो नै सबभन्दा खतरनाक सूचक हो । त्यसैले नि सबैभन्दा जोखिमयुक्तक्षेत्रमा हामि छौ । तसर्थ हामि संधै भूकम्पीय जोखिममा छौ । बच्ने उपाय भनेको सतर्कता र बलियो जमिनमा बलियो आवास बनाउनु नै हो -ताकी आफ्नो छानोले आफैलाई नमारोस । 

२०७२ साल , बैशाख १२ को गोरखा भूकम्प अघि पनि यसरी लगातारका पूर्वकंप (फोरसक) हरु गएकाथिए कि ? थिए भने रेकर्ड गरिए कि गरिएनन ? यि पूर्वकम्पहरु साँच्चै कुनै ठुलो र विनाशकारी भूकम्पको संकेत हो भने, उक्त ठुलो भूकम्प जानु कति अगाडी देखि यस्ता पूर्वकम्पहरु जान शुरु गर्छन ? यसको बारेमा समुदायमा अलि बढीनै सूचना र श्रोतहरु पुग्नेगरी अहिलेदेखिनै काममा जुटीहाल्नु उपयुक्तहुनेछ । त्यतिखेर, कुनै भिभिआइपीको सवारीमा साइरन बजाएर सडक खालि गरेजस्तो गर्नथाल्दा धेरै ढिलोहुनेछ I जवाफ दिन गाह्रो हुनेछ त्यतिखेर । आमनागरिकहरुले म्याग्नीच्युड, पस्चकंप (आफ्टरशक), ईपिसेंटर वा हाइपोसेन्टर खोजि गर्ने वा सुन्ने छैनन, बिग्रिएको जीवनको लय खोज्नेछन I दाता सम्मेलन हुदैछ भनेर त्यतिखेर ढाट्नु  वा आश देखाउनुको साटो मृतक, घाइते, सम्पत्तिविहिन र परिवारविहिनहरुको तत्कालिन र अस्थाई व्यवस्थापनमा हुनसक्ने उल्झनहरु लाई अहिले देखि नै चुस्त राख्दा राम्रो हुन्छ I

किन सिमित क्षेत्रमा छोटो अवधिभित्रै  पराकम्पहरुको क्षमता र उत्सर्जन आवृत्ति (फ्रिक्वेन्सी) मा वृद्धि भैरहेकोछ ? हामिले जीवन सुरक्षाकोलागि सारा सम्पति खन्याएर ठड्याएका भित्ता, चुलिगारो र छानाहरु हाम्रा दुश्मन बन्नु अगावै सोच्नेबेला भैसकेन र अब ? प्रकृतिले समय अलिकति दिएकोछ, तर ढिलाई हामीबाटै भैरहेकोछ । हामि सतर्क हुनुपर्छ र सोहि अनुसार सबल भविष्यको लागि कार्ययोजनाहरुमा लाग्नुपर्छ । तसर्थ समयले अब सामनाको लागि तयारी गर भनेजस्तो छ । हामि तयार हुनैपर्छ ।

भूकम्पको अवधि र पछिका डरलाग्दा जोखिमहरु :

  • जमिन छुट्टिने, चिरापर्ने, भासिने, अग्लिने, हराउने वा स्थानान्तरण (सर्ने) हुने ।
  • हिमपहिरो (Avalanche) आउने र हिमनदी बढ्ने/पग्लने ।
  • हिमतालहरुको बिष्फोटन हुने र तल्लो तटीय क्षेत्रहरु पुरिने/बग्ने वा बिस्थापित हुने ।
  • मानव निर्मित विकासे संरचनाहरुको विनाशहुने ।
  • बेमौसमी बाढीहरुको वृद्दीले पानीका श्रोतहरु नासिने/हराउने र दीर्घकालीन जोखिम निम्तिने ।
  • पानी/बाढीजन्य शरणार्थीहरुको तीव्र वृद्दीले व्यवस्थापनमा चाप पर्ने ।

सारांशमा,

२०७२ सालको भूकम्पपछिको पुनर्निर्माण सम्पन्न भएको घोषणा गर्दै रास्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि विघटन भैसकेको छ । जे जस्तो भएपनि १ तल्ले र होचा घरहरुले गर्दा ग्रामिण क्षेत्रहरु केहि सुरक्षित छन । तर अहिले संघीय राजधानी लगायत शहरी क्षेत्रहरु अति नै जोखिममा छन ।  त्यो बेला (वा अगाडिदेखि) हल्लिएका/थर्किएका वा करङ खुस्किएका घर/संरचनाहरु टालेर वा पैसाको लोभमा अझै तला थपेर आवास वा व्यापारिक प्रयोजनमा प्रयोग भैरहेकाछन । नयाँ निर्माण भएकाहरुमा पनि “भवन निर्माण मापदण्ड-२०८०” लाइ बिल्कुल वेवास्ता गरिएको छ । अहिले फेरी २३ पुषको भूकम्पले मर्याकमुरुक पारेको अवस्था छ । एक त नेपालमा सुरक्षित र बलियो जमिन छैन । दोश्रो निर्माणकर्ताहरु पनि पर्याप्त खर्च गर्न असमर्थ छन अनि सक्नेहरु पनि “कोड/नियम र कानून” हरुलाई वेवास्ता गरिरहेकाछन वा पैसाको बलमा चाँडो चाँडो न्युन गुणस्तरको काम गरिरहेकाछन । हिमाली र पहाडी क्षेत्रहरुमा पहिचान गरिएका जोखिमपूर्ण बस्तीहरु सारिएका छैनन । सार्वजनिक स्थान र जग्गाहरुको सुरक्षा र अभिलेखीकरण गरिएको छैन । बस्ति विकासका लागि वा आपतकालका बेला राखिने उद्दार अस्थाई शिविरहरुका पहिचान/निर्माण गरिएका छैनन । पुर्व -चेतावनीयूक्त साइरनहरु जडानको काम कागजमै सिमित छ । अहिले सम्म १४ महिना बित्दा समेत जाजरकोकोट भूकम्पले क्षति गरेका ५०००० बढी घर/संरचनाहरुको पुनर्निर्माण सुरु गरिएको छैन । हाल आएर स्थानीय पिडितहरु “भवन निर्माण मापदण्ड-२०८०” को वेवास्ता गर्दै आफ्नै तालमा पुनर्निर्माणमा लागिरहेका खबर प्राप्त भएकाछन । यो हेर्ने कसले हो? नागरिकहरुलाई किन यसरी एक्ल्याईदै छ ? अहिले फेरी लगातार भूकम्पका धक्काहरु महसुस गरिरहिएकोछ । “समयको सदुपयोग गर र सुरक्षित बस” भन्ने “सुपरन्याचुरल पावर” को चेतावनीलाइ हामि किन बुझिरहेका छैनौ वा बुझेर बुझ पचाईरहेकाछौ ?

तसर्थ यो चेतावनीको घन्टी बजिरहेको र पाइएको खालि समयमा जीवन सुरक्षाका लागि लाग्नु नै भूकम्पबाट बच्ने एकमात्र उपाय हो । यसकालागि अभियानकै रुपमा देशै लाग्नुपर्छ ।

ई.हरिकृष्णआचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.