बेल्जियम : प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका दुई जना केन्द्रीय सदस्य शिवकुमार बरुवाल र रमेश थापा बिना शर्त, स्वतःस्फूर्त रूपमा रास्वपामा प्रवेश गरेका छन्।
लामो समयदेखि बेल्जियमलाई आफ्नो कर्मथलो बनाएर व्यवसाय गर्दै आएका बरुवाल बेल्जियममा नेकपा एमालेको संगठनका संस्थापक सदस्य हुँदै बेल्जियमका अध्यक्ष, हाल अन्तर्राष्ट्रिय कमिटीका सदस्य तथा एनआरएन विभागका संयोजक हुन् । उनले देशको आमूल परिवर्तन, विकास र समृद्धि नेकपा एमालेले नै गर्छ भन्ने विश्वासका साथ पार्टीलाई साथ दिएको तर पटक पटक अवसर पाउँदा पनि पार्टीले देश विकास गर्न नसकेको, सुशासन दिन नसकेको, भ्रष्टाचार झन् मौलाउँदै गएको तथा पार्टी र सत्ताको नेतृत्वमा बारम्बार उही व्यक्तिहरू दोहोरिँदै आएको कारण नेकपा एमालेलगायत पुराना दलप्रति वितृष्णा जागेको बताए ।
अब नयाँ युवाहरूलाई अवसर दिनुपर्ने निष्कर्षका साथ नेकपा एमाले परित्याग गरी रास्वपामा प्रवेश गरेको उनको भनाइ छ ।
त्यस्तै, लामो समयदेखि क्यानडालाई कर्मथलो बनाउँदै अध्यापन पेशामा संलग्न रमेश थापा पनि नेकपा एमालेको प्रवास संगठन क्यानडाका पूर्व अध्यक्ष तथा हाल प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय सदस्य हुन् । थापाले नेकपा एमालेले आफ्नो सिद्धान्तअनुसार व्यवहारमा काम नगरेको, प्रवासी नेपालीहरूको मागप्रति उदासीन रहेको तथा पछिल्लो क्रममा जेन्जी विद्रोहमा सहादत प्राप्त गर्नेहरूप्रति पनि संवेदनशील नदेखिएको आरोप लगाउँदै नेकपा एमाले परित्याग गरी निशर्त रूपमा रास्वपालाई सहयोग गर्ने जानकारी दिए ।
