April 19, 2026
Trending
Follow Us :

डायस्पोरा बन्डमा संशय, सामूहिक लगानी कोषलाई प्रभावकारी विकल्पको प्रस्ताव

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठले सरकारले प्रस्ताव गरेको १ खर्ब रुपैयाँ बराबरको डायस्पोरा बन्ड सफल हुने सम्भावना न्यून रहेको बताएका छन्। विदेशमा रहेका नेपालीहरूको पूँजी, ज्ञान, सीप र प्रविधि स्वदेश भित्र्याउन ठोस र व्यवहारिक रणनीति आवश्यक रहेको उनले जोड दिएका छन्।

हालै सम्पन्न एनआरएनएको १२औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको र सरकारले समेत गैरआवासीय नेपालीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै प्रवासी नेपालीहरू उत्साहित देखिए पनि डायस्पोरा बन्डको अवधारणा पर्याप्त अध्ययनबिनै ल्याइएको जस्तो देखिएको उनको टिप्पणी छ।

श्रेष्ठका अनुसार विगतमा नेपाल राष्ट्र बैंक तथा सरकारद्वारा जारी गरिएका वैदेशिक रोजगार बचतपत्रजस्ता योजनाहरू अपेक्षित रूपमा सफल हुन सकेका थिएनन्। यसको प्रमुख कारण गैरआवासीय नेपालीहरू सरकारी बन्डभन्दा इक्विटीमा आधारित लगानीतर्फ बढी आकर्षित हुनु रहेको उनले बताए।

उनले विदेशमा करिब ८० लाख नेपाली बसोबास गरिरहेको, जसको वार्षिक आम्दानी करिब २२ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको उल्लेख गरे। त्यसमध्ये १६–१७ खर्ब रुपैयाँ औपचारिक माध्यमबाट रेमिट्यान्सको रूपमा नेपाल भित्रिने गरेको र कुल सम्पत्ति १०० खर्ब रुपैयाँभन्दा बढी रहेको आँकलन गरिएको छ।

यस्तो विशाल पूँजीलाई प्रभावकारी रूपमा परिचालन गर्न ‘डायस्पोरा सामूहिक लगानी कोष’  उपयुक्त विकल्प हुन सक्ने उनको धारणा छ। उनले तीन प्रकारका कोष प्रस्ताव गरेका छन्—साना तथा मध्यम आम्दानी समूह लक्षित ५० अर्ब रुपैयाँको कोष, मध्यम तथा ठूला लगानीकर्ता लक्षित १० अर्ब रुपैयाँको कोष, र विदेशी नागरिकता भएका गैरआवासीय नेपाली लक्षित १० अर्ब रुपैयाँको कोष।

उनका अनुसार यस्ता कोष सञ्चालनका लागि विद्यमान कानुनी संरचनामा सुधार आवश्यक हुनेछ। विशेषगरी धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत नयाँ नियमावली निर्माण तथा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कानुनी व्यवस्थामा स्पष्टता ल्याउनुपर्ने आवश्यकता उनले औंल्याएका छन्।

प्रस्तावित कोषमार्फत जलविद्युत, डेटा सेन्टर, हरित हाइड्रोजन, रासायनिक मल उद्योग, इस्पात उद्योग, एक्सप्रेसवे, पर्यटन, व्यावसायिक कृषि, शिक्षा र स्वास्थ्य जस्ता उत्पादनमूलक तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न सकिने श्रेष्ठको भनाइ छ।

अन्त्यमा, उनले १२औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. हेमराज शर्मा लगायत सम्पूर्ण कार्यसमितिलाई बधाई दिँदै महाधिवेशन सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गरेका छन्। साथै, विदेशमा रहेका नेपालीहरूको पूँजी, सीप र अनुभवलाई राष्ट्र निर्माणमा परिचालन गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.