काठमाडौं – गैरआवासीय नेपाली संघ (NRNA) मा लामो समयदेखि सक्रिय अभियन्ता सोमनाथ सापकोटा ले आगामी अन्तर्राष्ट्रिय साधारण सभा तथा विश्व सम्मेलनको अवसरमा हुने संघको निर्वाचनमा एनआरएनए आईसीसी उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुभएको छ।
दुई दशकभन्दा बढी समयदेखि प्रवासी नेपाली समुदायमा सक्रिय रहँदै आएका सापकोटा एनआरएनएको सुरुवाती चरणदेखि नै विभिन्न जिम्मेवारीमा काम गर्दै आउनुभएको व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। उहाँले २००६ मा NRNA NCC Portugal मा कार्यकारी सदस्यका रूपमा आफ्नो संस्थागत यात्रा सुरु गर्नुभएको थियो भने २००९ मा NRNA NCC Denmark मा संस्थापक अध्यक्ष बनेर त्यहाँको नेपाली समुदायलाई संगठित गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषदमा पनि सापकोटाले विभिन्न चरणमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुभएको छ। उहाँले आईसीसी सदस्य, युरोप क्षेत्रीय सह–समन्वयक, सल्लाहकार, संयुक्त कोषाध्यक्ष, प्रवक्ता लगायतका पदमा काम गरिसक्नुभएको छ भने हाल उपमहासचिवको जिम्मेवारीमा कार्यरत हुनुहुन्छ।
सामाजिक कल्याण, पर्यटन प्रवर्द्धन, पुस्तकालय अभियान तथा वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न कार्यदल र परियोजनाहरूमा समेत उहाँको सक्रिय भूमिका रहेको बताइन्छ।
एनआरएनए गतिविधिबाहेक पनि सापकोटा नेपाल प्रवर्द्धनसँग सम्बन्धित अन्तर्राष्ट्रिय गतिविधिहरूमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले नेपाल पर्यटन बोर्ड को प्रतिनिधिका रूपमा डेनमार्क र माल्टामा काम गर्नुभएको थियो भने सन् २०२२ मा वेल्सका लागि पर्यटन सद्भावना राजदूतका रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो। हाल उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनसँग जोडिएका कार्यक्रमहरूमा संलग्न हुनुहुन्छ।
साथै, विभिन्न स्थानीय तहहरूले पनि उहाँलाई अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनसँग जोडिएका भूमिकामा जिम्मेवारी दिएका छन्। भरतपुर महानगरपालिका, लुम्बिनी नगरपालिका, रामग्राम नगरपालिका, देवदह नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका जस्ता स्थानसँग पर्यटन प्रवर्द्धनमा सहकार्य गर्दै उहाँले काम गरिरहनुभएको छ।
उम्मेदवारी घोषणा गर्दै सापकोटाले एनआरएनएलाई अझ एकताबद्ध, पारदर्शी र विश्वसनीय संस्था बनाउने लक्ष्य राखेको बताउनुभयो। संस्थागत शासन बलियो बनाउने, आईसीसी र एनसीसीबीचको समन्वय सुधार गर्ने, डिजिटल प्रविधिको प्रयोग बढाउने, विश्वव्यापी नेटवर्क विस्तार गर्ने तथा युवा र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको सहभागिता बढाउने विषय आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ।
त्यसैगरी प्रवासी श्रमिकको हित संरक्षण, डायस्पोराबाट नेपालमा लगानी आकर्षित गर्ने तथा संस्थागत सुधारमार्फत अझ लोकतान्त्रिक र समावेशी निर्वाचन प्रणाली विकास गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ।
सापकोटाका अनुसार एकता, विश्वास र पेशेवर नेतृत्वका आधारमा एनआरएनएलाई विश्वभरका नेपालीहरूको साझा र प्रभावकारी प्लेटफर्मका रूपमा अझ सुदृढ बनाउन सकिन्छ। प्रवासी समुदायमा लामो अनुभव र सक्रियताका कारण उहाँलाई उपाध्यक्ष पदका सम्भावित बलिया उम्मेदवारमध्ये एकका रूपमा पनि हेरिएको छ।