काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि) कतारका अध्यक्ष कृष्ण पन्थीले नेपाल सरकारसमक्ष “एनआरएनए श्रमिक अस्पताल” स्थापना गर्न तत्काल पहल गर्न आग्रह गर्नुभएको छ। विशेषगरी परराष्ट्र मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यान यस महत्वपूर्ण विषयमा केन्द्रित गराउन उहाँले जोडदार अपिल गर्नुभएको छ।
सन् २०१४ देखि विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै सामाजिक अभियानमा सक्रिय रहँदै, सन् २०१७ देखि एनआरएनएको अभियानमा समर्पित रूपमा कार्य गर्दै आउनुभएका अध्यक्ष पन्थीले सन् २०१९ देखि “एनआरएनए हटलाइन”, “एनआरएनए श्रमिक हेल्प डेस्क” जस्ता कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ। यसै क्रममा “नेपालमै श्रमिक अस्पताल स्थापना” गर्ने अवधारणा निरन्तर उठाउँदै आउनुभएको छ।
अध्यक्ष पद सम्हालेसँगै उहाँको नेतृत्वमा एनआरएनए एनसीसी कतारले हटलाइन सेवा सञ्चालनमा ल्याएको थियो, जसले श्रमिकहरूको समस्या समाधानमा प्रभावकारी भूमिका खेलेको छ। साथै, उहाँले श्रमिक विभागमा उप–संयोजक (२०१९–२०२३) र उपाध्यक्ष तथा श्रमिक संयोजक (२०२३–२०२५) को रूपमा कार्य गर्दै बिरामी श्रमिकहरूको अवस्थाबारे नजिकबाट अध्ययन गर्ने अवसर प्राप्त गर्नुभएको छ।
यस अवधिमा गम्भीर बिरामी परेका केही श्रमिकहरूलाई नेपाल फर्काएर परिवारको साथमा उपचार गराउँदा उल्लेखनीय सुधार भएको अनुभव गरिएको छ। एकजना बिरामीलाई चिकित्सकले सीमित समय बाँकी रहेको बताए पनि परिवारसँग नेपाल फर्किएपछि स्वास्थ्यमा सुधार आएको थियो। अन्य बिरामीहरूमा पनि परिवारको साथमा उपचार गर्दा छिटो र प्रभावकारी सुधार देखिएको छ।
कतारका अस्पतालहरू विश्वस्तरीय सेवा र सुविधायुक्त भए पनि, बिरामी श्रमिकहरूका लागि परिवारको साथ र मानसिक सन्तुलन अत्यन्त महत्वपूर्ण रहने तथ्य उजागर भएको अध्यक्ष पन्थीले बताउनुभयो। यसैकारण, यदि नेपालमै “एनआरएनए श्रमिक अस्पताल” स्थापना गर्न सकिएमा, विदेशमा रहेका बिरामी नेपाली श्रमिकहरूलाई स्वदेशमै फर्काएर उपचार गर्ने वातावरण सिर्जना हुनेछ।
नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको ठूलो योगदान रहेको सन्दर्भमा, उनीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्नु राज्यको दायित्व हो। तर, हालसम्म यस विषयमा अपेक्षित ध्यान नदिइएकोमा अध्यक्ष पन्थीले चिन्ता व्यक्त गर्नुभएको छ।
विगतमा नेपालबाट कतार भ्रमणमा आउने उच्चस्तरीय नेतृत्वसमक्ष—मन्त्री, उपप्रधानमन्त्री तथा राष्ट्रपतिसम्म—यस विषयमा ध्यानाकर्षण गराइए पनि ठोस पहल हुन सकेको छैन।
हाल नयाँ सरकार गठन भएको सन्दर्भमा, अध्यक्ष पन्थीले यस विषयलाई गम्भीर रूपमा उठाउँदै परराष्ट्र मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी “एनआरएनए श्रमिक अस्पताल” स्थापना प्रक्रियालाई अघि बढाउन आग्रह गर्नुभएको छ।
साथै, एनआरएनएका अन्तर्राष्ट्रिय अध्यक्ष डा. हेमराज शर्माले प्रधानमन्त्रीसँगको भेटघाटमा यस विषयलाई प्राथमिकताका साथ उठाइदिनुहुन अनुरोध गरिएको छ।
एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले यस महत्वपूर्ण मानवीय पहलमा नेपाल सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै शीघ्र सकारात्मक कदम चालिने अपेक्षा व्यक्त गर्नुभएको छ।