काठमाडौं/फुकुओका — जापानको फुकुओकामा क्यूशु क्षेत्रीय समितिको आयोजनामा शनिबारदेखि सुरु भएको फुकुओका नेपाल महोत्सव कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोविन शेरचन प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्।
उक्त अवसरमा बोल्दै शेरचनले विदेशी भूमिमा रहेर पनि नेपालीहरूले आफ्नो कला, संस्कृति, भाषा र पहिचानलाई सुन्दर ढंगले प्रस्तुत गरेकोमा गर्व लागेको बताए। उनले क्यूशु क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले गरेको प्रगति, मेहनत र सफलताको यात्रालाई प्रेरणादायी उदाहरणका रूपमा उल्लेख गरे।
उनले जापानी नागरिकहरूको आत्मीयता, सहयोग र सक्रिय सहभागिताले कार्यक्रमलाई अझ भव्य र अर्थपूर्ण बनाएको अनुभव साझा गरे। यस्ता कार्यक्रममार्फत नेपाल र जापानबीचको मित्रता, सहकार्य र आपसी समझदारी थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
शेरचनका अनुसार गैरआवासीय नेपाली संघले नेपालको आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विशेषगरी जापानजस्तो विकसित देशमा बसोबास गर्ने नेपाली समुदायले आफ्नो सीप, अनुभव र अन्तर्राष्ट्रिय सञ्जालमार्फत नेपाललाई विश्वसामु चिनाउने कार्य सराहनीय रहेको उनले बताए।
फेस्टिवलमा नेपाली कला, सांस्कृतिक प्रस्तुति, खानपान तथा विविध कार्यक्रमहरू समेटिएको आयोजकले जनाएको छ।
