April 20, 2026
Trending
Follow Us :

नेपाल-भारत कृषि सम्मेलन २०२५ सम्पन्न, द्विपक्षीय कृषि सहकार्यलाई प्रवर्द्धन गर्ने अपेक्षा

मधुबनी, बिहार – भारतको मधुबनीस्थित कृषि विज्ञान केन्द्र, चानपुरामा फेब्रुअरी ७ देखि ९ सम्म आयोजना भएको कृषि विकास सम्मेलन तथा मेगा एग्री एक्स्पो २०२५ सफलता पूर्वक सम्पन्न भएको छ। सम्मेलनमा नेपाल सरकारका पूर्व सचिव डा. योगेन्द्र कुमार कार्कीको नेतृत्वमा ३४ सदस्यीय नेपाली टोलीले सक्रिय सहभागिता जनाएको थियो।

नेपाल र भारतबीच कृषि प्रविधि, उत्पादन वृद्धि, बजार विस्तार तथा नवप्रवर्तन प्रवर्द्धनका विषयमा छलफल गर्न आयोजित यो सम्मेलनमा दुवै देशका कृषि विज्ञ, उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रह्यो। कार्यक्रममा केरलाका राज्यपाल श्री राजेन्द्र विश्वनाथ आर्लेकर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने भारत सरकारकी खाद्य तथा उपभोक्ता संरक्षण मन्त्री लेशी सिंहको विशेष उपस्थिति रहेको थियो।

यो सम्मेलन एस. के. चौधरी ट्रस्टको आयोजनामा सम्पन्न भएको हो। ट्रस्टका अध्यक्ष डा. सन्त कुमार चौधरीले नेपाल र भारतबीच कृषि प्रविधि आदान-प्रदान तथा सहकार्यलाई प्रवर्द्धन गर्दै किसानहरूको आर्थिक सशक्तिकरणका लागि यस्ता सम्मेलनहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो। डा. चौधरी, जो शिक्षामार्फत समाज रूपान्तरणका लागि लामो समयदेखि क्रियाशील हुनुहुन्छ, नेपाल र भारतबीचको कृषि अनुसन्धान तथा व्यावसायिक साझेदारीलाई अझ मजबुत बनाउन आगामी दिनमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपालबाट सहभागी टोलीले जैविक खेती, जलवायु परिवर्तन अनुकूलन, पशुपालन, कृषि वित्त, उद्यमशीलता प्रवर्द्धन, तथा महिला सशक्तिकरण जस्ता विषयमा छलफल गर्यो। डा. योगेन्द्र कुमार कार्कीले सम्मेलनमा नेपालका कृषि नीति, प्रविधि र व्यावसायीकरणका सम्भावनाहरूबारे प्रस्तुति दिँदै यस्ता कार्यक्रमहरू कृषि क्षेत्रको दीगो विकासका लागि अपरिहार्य हुने बताउनुभयो।

यस सम्मेलनले नेपाल र भारतबीच कृषि प्रविधि हस्तान्तरण, सहकार्यका सम्भावनाहरू पहिचान तथा किसानहरूको आम्दानी वृद्धिका लागि रणनीति निर्माण गर्ने अवसर प्रदान गरेको छ। सम्मेलनको समापन सत्रमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजक तथा सहभागीहरूले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै दुवै देशका किसानहरूलाई प्रत्यक्ष लाभ पुर्याउने योजनासमेत अघि सारेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.