काठमाडौं। गैरआवासीय नेपाली संघ को १२औं महाधिवेशनको संघारमा रहँदा अध्यक्ष पदका प्रत्यासी रोविन शेरचनले संस्थागत एकता र सहमतिमा आधारित निर्वाचन प्रक्रियाको आवश्यकता औंल्याएका छन्। आगामी मार्च १४–१६ मा काठमाडौंमा हुने महाधिवेशन अघि निर्वाचन प्रणाली, डेलिगेट्स छनोट तथा प्राविधिक विषयमा देखिएका विवादप्रति चिन्ता व्यक्त गर्दै उनले सबै पक्षलाई संवादमार्फत समाधान खोज्न अपील गरेका छन ।
उपाध्यक्षसमेत रहेका शेरचनले आफ्नो मुख्य प्राथमिकता ‘एकताबद्ध एनआरएनए’ भएको उल्लेख गर्दै व्यक्तिभन्दा संस्था ठूलो हुने धारणा आत्मसात् गर्न आग्रह गरे। “हामीले व्यक्तिगत अडान र समूहगत स्वार्थभन्दा माथि उठेर प्रवासमा रहेका लाखौं नेपालीको साझा घरलाई बलियो बनाउनुपर्छ,” उनले भने।
उनले निर्वाचन प्रणाली र डेलिगेट्स छनोटमा देखिएका असमझदारीलाई हठ त्यागेर आपसी छलफलमार्फत टुंग्याउनुपर्नेमा जोड दिए। साझा बिन्दु पहिचान गरेर मात्रै संस्थालाई अघि बढाउन सकिने उनको भनाइ छ।
शेरचनले समावेशी निर्वाचन प्रणालीको आवश्यकता पनि औंल्याए। संसारभर रहेका सदस्यहरूले सहज रूपमा मतदान गर्न पाउने (अनलाइन वा भौतिक) व्यवस्था सुनिश्चित गरिनुपर्ने उनको धारणा छ। यसले निर्वाचन प्रक्रियालाई थप पारदर्शी र सर्वस्वीकार्य बनाउने विश्वास उनले व्यक्त गरे।
त्यस्तै, प्रधानमन्त्रीको उपस्थितिमा भएको १० बुँदे सहमतिको मर्मलाई सम्मान गर्दै आगामी महाधिवेशनलाई विवादको नभई ‘एकताको महाधिवेशन’का रूपमा सफल बनाउनुपर्ने उनले बताए।
अन्त्यमा उनले सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई संस्थाको साख र गरिमा उचो बनाउन एकताबद्ध हुनआह्वान गर्दै भने, “एकता नै हाम्रो वास्तविक शक्ति हो।