काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउने उद्देश्यले आजदेखि व्यापक सुरक्षा परिचालन सुरु गरिएको छ । निर्वाचन सुरक्षा व्यवस्थापनका लागि करिब ८० हजार नेपाली सेना परिचालित भएका छन् ।
सरकारले स्वीकृत गरेको निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा सुरक्षामा खटिएका हुन् । चारवटै सुरक्षा निकायबीच समन्वय कायम गर्दै निर्वाचन अवधिभर शान्ति सुरक्षा मजबुत बनाइने जनाइएको छ ।
सुरक्षा योजनाअनुसार मतदानस्थलमा तीन तहको सुरक्षा व्यवस्था गरिएको छ । मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिनेछन् भने दोस्रो तहको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ । बाहिरी सुरक्षा घेरामा नेपाली सेना परिचालित रहनेछ ।
नेपाली सेनाले देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा सुरक्षाको जिम्मेवारी सम्हाल्दै आवश्यक स्थानमा ‘बेस’ स्थापना गर्ने र परिस्थितिअनुसार संयुक्त गस्ती सञ्चालन गर्ने जनाएको छ । सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन प्रयोजनका लागि तीन चरणमा सुरक्षा कार्य अघि बढाइनेछ ।
निर्वाचनपूर्वको चरणमा मतपत्र छपाइ तथा ढुवानी, मतदान सामग्रीको सुरक्षा, मतदानपछिको मतपेटिका ढुवानी र मतगणनास्थलको सुरक्षासम्म सेनाको सक्रिय भूमिका रहनेछ । यसका साथै विमानस्थल, कारागार तथा अन्य संवेदनशील संरचनाको सुरक्षामा पनि सेना परिचालित हुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि नै मन्त्रिपरिषद्को सिफारिसमा निर्वाचन सुरक्षाका लागि सेना परिचालनको स्वीकृति प्रदान गरिसकेका छन् ।
निर्वाचन अवधिभर राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई पूर्ण सुरक्षा दिने लक्ष्यका साथ सुरक्षा निकायहरू उच्च सतर्कतामा रहने जनाइएको छ ।
आसन्न निर्वाचनमा कुल एक करोड ८९ लाखभन्दा बढी मतदाता सहभागी हुनेछन् । देशभर करिब ११ हजार मतदानस्थलमा २३ हजारभन्दा बढी मतदान केन्द्र तोकिएका छन् । ती मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील श्रेणीमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको छ ।
नेपाल प्रहरीतर्फ ७७ हजार जनशक्ति परिचालन हुनेछन् भने निर्वाचन व्यवस्थापन सहज बनाउन थप ‘निर्वाचन प्रहरी’ समेत खटाइनेछ । सशस्त्र प्रहरी बलले पनि झण्डै ५० हजार सुरक्षाकर्मी परिचालन गरी कुनै पनि आपतकालीन अवस्थामा १० मिनेटभित्र घटनास्थलमा पुग्ने तयारी गरेको जनाएको छ ।
