मुम्बई, माघ २१
भारतको मुम्बईस्थित छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार साँझ दुई वटा यात्रुवाहक विमान आपसमा ठोक्किने घटना भएको छ । ट्याक्सीवेमा रहेका इन्डिगो र एयर इन्डियाका विमानका पखेटा आपसमा ठोक्किएको हो ।
घटना साँझ करिब ७:३० बजे भएको बताइएको छ । पखेटा ठोक्किएलगत्तै दुवै विमानका यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जनाएको छ । घटनामा कुनै मानवीय क्षति नभएको पनि पुष्टि गरिएको छ ।
डीजीसीएका अनुसार एयर इन्डियाको फ्लाइट एआई–२७३२ उडानको तयारीमा ट्याक्सीवेमा रोकिएको अवस्थामा थियो । सोही समयमा अवतरणपछि ट्याक्सीवे हुँदै गन्तव्यतर्फ जाँदै गरेको इन्डिगोको ए–३२० विमानसँग पखेटाको टुप्पो भागमा सम्पर्क भएको हो ।
घटनापछि दुवै एयरलाइन्सले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यात्रुहरूको सुरक्षा सुनिश्चित गरिएको जानकारी दिएका छन् । एयर इन्डियाले मुम्बईबाट कोयम्बटूर जाँदै गरेको आफ्नो विमानको पखेटामा क्षति पुगेको जनाएको छ भने इन्डिगोले हैदराबाद–मुम्बई उडानमा रहेको विमानको प्राविधिक जाँच प्रक्रिया सुरु गरिएको बताएको छ ।
घटनालगत्तै डीजीसीएको मुम्बई कार्यालयका अधिकारीहरू विमानस्थल पुगेर स्थलगत निरीक्षण गरेका थिए । हाल दुवै विमानलाई प्राविधिक परीक्षणका लागि ग्राउन्डेड गरिएको छ ।