April 19, 2026
Trending
Follow Us :

पत्रकारले देश र जनताका पक्षमा दायित्व पूरा गर्न अग्रसर रहनु पर्छः अध्यक्ष बिजुक्छेँ

२३ माघ, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले पत्रकारले देश र जनताका पक्षमा उभिएर निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनुपर्ने बताएका छन् ।

आज भक्तपुरमा रफत सञ्चार क्लबको १६औँ वार्षिकोत्सव कार्यक्रममा उनले भने, “पत्रकारले देश र जनताको पक्षमा बोल्न र लेख्न हिच्किचाउन हुँदैन, देश र जनताको पक्षमा उभिएर निर्भिकताका साथ आफ्नो दायित्व पूरा गर्न अग्रसर रहनुपर्छ । पत्रकार कुनै न कुनै राजनीतिक दलमा आबद्ध हुन्छन् तर समाचार निष्पक्ष हुनुपर्छ, दल देखिनु हुँदैन ।” अध्यक्ष बिजुक्छेँले आफूले राजनीतिक जीवन सुरु गर्दाका बेलामा आफूले समीक्षा साप्ताहिकमा आर्थिक विषयमा समाचार लेख्दा सम्पादक मदनमणि दीक्षितले दिएको प्रेरणास्पद क्षण स्मरण गरे । पत्रकारहरूले संसारका सामाजिक, आर्थिक र राजनीतिक क्रान्तिका विषयमा उजागर गर्ने गरेको स्मरण गर्दै अध्यक्ष बिजुक्छेँले आफू पत्रकारिता क्षेत्रमा रहँदा राजनीतिक दलको गतिविधि रिर्पोटिङ गर्न जाँदा तत्कालीन समयमा प्रहरीको लाठी प्रहार सहनुपरेको बताए । “पत्रकारले इमान्दार भएर आफ्नो कर्तव्य पूरा गरेमा समाजलाई सुदृढ गर्न सकिन्छ”, उनले भने । अध्यक्ष बिजुक्छेँले पत्रकारहरूले नै रुसी क्रान्ति, दोस्रो विश्वयुद्धमा खसालिएको आणविक बमको असरको यथार्थ स्थितिको प्रकाश पारेर संसारलाई जानकारी गराएको उल्लेख गरे । कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले शिक्षा र स्वास्थ्य क्षेत्रको समस्याको पहिचान र त्यसको निदानका लागि पत्रकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले भक्तपुर जिल्लाका समग्र गतिविधि अन्य क्षेत्रमा प्रचारप्रसार गर्न रफत रञ्चार कलबको योगदान अग्रणी रहेको चर्चा गरे । उनले भने, “अहिले निर्वाचनका समय छ, पत्रकारहरूले आज मतदाता र उम्मेदवारहरूका बीचमा एउटा सेतुका रूपमा काम गर्न सके निष्पक्ष पत्रकारिताको कडी स्थापना हुन्छ ।” कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले रफत सञ्चार क्लबले जनताका हक र अधिकार स्थापना गर्नेमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

राससकर्मी श्रेष्ठसहित तीन जना सम्मानित

फोटो पत्रकार रत्न श्रेष्ठलाई रफत क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । अध्यक्ष बिजुक्छेँ र मन्त्री थापाले उहाँलाई नगद रु पाँच हजारसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

कार्यक्रममा कैलाश खबर डटकमका वरिष्ठ पत्रकार विनोद विश्वकर्मा, ख्वप अस्पतालमा कार्यरत हाडजोर्नी रोग विशेषज्ञ डा मनिष प्रधानाङ्गलाई कल्पना स्मृति पुरस्कारबाट नगद, प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.