नेपाल थट्स / काठमाडौँ : बाल्यकालीन पदचाप र शिक्षा
धादिङ-रिचोकटार, मलेखुमा सम्बत् २०३३ मा जन्मिएका रमेश कँडेल साहित्य, संस्कृति, समाजसेवासहित प्रवासी नेपाली समुदायका बिच सुपरिचित नाम हो । पारिवारिक शैक्षिक प्रेरणाका बिच शिक्षा ग्रहण गर्दै अघि बढेका कँडेलका पिता कमलराज कँडेल माध्यमिक तहसम्म शिक्षकको जिम्मेवारी, प्रधानाध्यापक र स्रोत व्यक्ति (रिसोर्स पर्सन-आर.पी.) सम्म बने । पिताजीको शैक्षिक योगदानबारे रमेश भन्छन् “बुबा तत्कालीन बागेश्वरी प्राईमरी स्कुल रिचोकटार, (२०२८-२०३३) , श्री आदर्श मावि गजुरी (२०३५-२०३६) र अन्तमा श्री चन्द्रोदय मावि विशालटार (२०३६-२०५७) शिक्षकको रूपमा काम गर्नुभएको थियो । २०५७ देखी २०७० सम्म जिल्लाको विभिन्न विद्यालयहरूमा स्रोत व्यक्ति भएर काम गर्नुभयो ।” बुबाबाट प्राप्त प्रेरणाले रमेशको जीवनमा अनुशासन, अध्ययनशीलता र सामाजिक उत्तरदायित्वप्रतिको चेतना विकास गर्न महत्त्वपूर्ण भूमिका रह्यो । बागेश्वरी माध्यामिक विद्यालयबाट प्रारम्भिक शिक्षा पूरा गरेका रमेश सानै उमेरदेखि पढाइसँगै सामाजिक गतिविधिप्रति गहिरो रुचि राख्थे । उनी आफ्ना विगत स्मरण गर्दै भन्छन् “म १५ वर्षको उमेरमै मलेखुमा जनहित युवा क्लबको सुरुआत् गरेर सामाजिक कार्यमा सक्रिय रूपमा संलग्न हुन थालेँ । यस अनुभवले मभित्रको नेतृत्व क्षमता र समाजप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनायो ।”
व्यावसायिक जीवनको प्रारम्भ र समाजसेवा
काठमाडौँको सरस्वति क्याम्पसबाट व्यवस्थापन सङ्कायबाट स्नातक तह पूरा गरेपछि २ वर्ष होटल म्यानेजमेन्टको तालिम लिए । काठमाडौँको रविभवनबाट हासिल गरेको सो व्यावहारिक ज्ञानले रमेशको व्यावहारिक जीवनमा प्रवेश खोलिदियो । उनले केही समय काठमाडौँको ठमेलमा काम गरे र २२ वर्षको उमेरमा सन् १९९९ मा बेल्जियम प्रवेश गरे । उनी आफ्नो दैनिकी सम्झँदै भन्छन् “म तन, मन र धनले भ्याएसम्म सामाजिक, सांस्कृतिक तथा साहित्यिक क्षेत्रमा सक्रिय रहन्छु । यस्ता कर्ममा आनन्द आउँछ । जीवनमा खुसी हुन ठुलो काम गर्नुपर्दैन; समाजसेवा गरे पुग्छ । उनले सन् २००१ मा बेल्जियमवासी नेपालीहरूलाई सङ्गठित गर्दै नेपाली कला, संस्कृति र चाडपर्वलाई जीवन्त राख्ने उद्देश्यका साथ ‘हिमालयन सोसाइटी’ नामक संस्थाको स्थापना गरे । उक्त संस्थामा उनी संस्थापक उपाध्यक्षको रूपमा रही नेपाली समुदायलाई एक ठाउँमा ल्याउन अहोरात्र कर्म गरिरहे । उनी सम्झन्छन् “त्यसबेला सूचना प्रविधिको पहुँच सीमित भए तापनि बेल्जियमवासी प्रवासी नेपालीहरूलाई नेपाल र समाजसम्बन्धी सूचना तथा जानकारी पुर्याउने उद्देश्यले साथीहरूको सहयोगमा ‘सँगालो’ नामक पत्रिका प्रकाशन गरी घरघरमा वितरण गर्ने काम गरेँ ।” यसलाई उनले निरन्तरता दिँदै सन् २००६ मा ‘सँगालो अनलाइन रेडियो’ मार्फत घरबाटै युरोपभरिका नेपालीहरूमाझ सूचना तथा मनोरञ्जन प्रदान गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरे । सन् २००७ सम्म आइपुग्दा नेपाली समुदाय एक सशक्त समुदायका रूपमा स्थापित हुँदै गयो ।
नेपाली भाषा र साहित्यप्रतिको योगदान
नेपाली भाषा र साहित्यको प्रवर्धन आवश्यक रहेको महसुस गर्दै साहित्यकार कृष्ण बजगाईंको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मा उनले संस्थापक महासचिवको रूपमा जिम्मेवारी प्राप्त गरे । कँडेल भन्छन् “साहित्य र समाज दुवै मेरा पर्याय हुन् । देशको मुहार साहित्यमा भेटिन्छ । साहित्यले नै समाज बोल्छ ।” यसै अवधिमा ‘शब्दाञ्जली’ नामक साहित्यिक पत्रिका प्रकाशन गरी बेल्जियमभर वितरण गरे । युरोप बसाइँको प्रारम्भिक चरणमा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका रमेश केही समय साइबर क्याफे तथा ग्रोसरी शप सञ्चालन गर्दै व्यवसायिक जीवनमा संलग्न भए । उनी पुनः सन् २०१४ मा ब्रुजवासी नेपाली समुदाय, विशेषतः नेपाली युवाहरू र बालबालिकाको खेलकुद, कला तथा संस्कृतिको उत्थानका लागि ‘हाम्रो क्लब’ को संस्थापक अध्यक्षको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पुगे । यसअन्तर्गत स्नुकर टुर्नामेन्ट, सिन्टरक्लास कार्यक्रम, सङ्गीत कक्षालगायतका विविध कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन भए । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बेल्जियमका प्रारम्भिक वर्षहरूमा दुई कार्यकाल सदस्यको रूपमा सेवा गरेपछि सन् २०२१–२०२३ कार्यकालका लागि महासचिव पदमा निर्वाचित भई उल्लेखनीय योगदान पुर्याए । एनआएनए बेल्जियमले प्रकाशित गरेको स्मारिका ‘बेल्जियम दर्पण’को सम्पादक भई काम गरेका रमेशले सन् २०२४ मा बेल्जियमको स्थानीय राजनीतिमा समेत सकारात्मक योगदान पुर्याउने उद्देश्यले फ्लान्डर क्षेत्रको सोसियलिस्ट पार्टी ‘Vooruit’ बाट नगर परिषद् सदस्यका लागि उम्मेदवारी दिए । उनी आफ्ना राजनीतिक यात्रा सम्झँदै भन्छन् “मैले ब्रुज क्षेत्रका ५९२ मतदाताबाट सम्मानजनक मत प्राप्त गर्न सफल भएँ । मैले यसलाई ब्रुजवासीको मत नभई मन जितेको ठान्दछु ।” समाजसेवा, साहित्य, संस्कृति र प्रवासी नेपाली समुदायको हितमा निरन्तर क्रियाशील रमेश कँडेल आफ्नी श्रीमति विनिता रिमाल, छोरा रशविन कँडेल र छोरी मिशिता रिमालका साथ बेल्जियमको ब्रुजवासी बनी बेल्जियमका नेपाली समुदायका लागि एक सक्रिय, अनुभवी र चिरपरिचित व्यक्तित्वका रूपमा स्थापित छन् ।

