काठमाडौं। आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गरेको नागरिक करारपत्रमा प्रवासी नेपालीका विविध मुद्दाहरू समेटिएकोप्रति प्रवासी समुदायले सकारात्मक प्रतिक्रिया दिएको छ। करारपत्रमा अनलाइन मतदानको व्यवस्था, वंशजको नागरिकताको निरन्तरता, सार्वभौम डायस्पोरा कोषको कार्यान्वयन, सुरक्षित लगानीको वातावरण निर्माण, सम्मानजनक स्वदेश फर्किने अवसर तथा मर्यादित वैदेशिक रोजगारी जस्ता विषयहरू समावेश गरिएका छन्।

वरिष्ठ उपाध्यक्ष, गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् क्यानाडाका सन्तोष दाहालले यी एजेन्डाहरूलाई “सकारात्मक र स्वागतयोग्य कदम” भन्दै धन्यवाद व्यक्त गरेका छन्। उनका अनुसार प्रवासमा रहेका नेपालीहरूको भावना, योगदान र अपेक्षालाई औपचारिक रूपमा स्वीकार गर्नु आफैंमा महत्वपूर्ण संकेत हो।
दाहालले भने, “यी मुद्दाहरू नयाँ होइनन्। सन् २००३ मा NRNA स्थापना भएदेखि नै विश्वभरका प्रवासी नेपालीहरूले निरन्तर रूपमा उठाउँदै आएका मागहरू हुन्।” विगतमा विभिन्न राजनीतिक दलहरूले पनि यस्ता प्रतिबद्धता सार्वजनिक गरे तापनि पर्याप्त कानुनी तथा नीतिगत कार्यान्वयन हुन नसकेको उनले स्मरण गराएका छन्।
उनका अनुसार प्रवासी नेपाली समुदायले अब भावनात्मक प्रतिबद्धताभन्दा बढी स्पष्ट कार्ययोजना, समयसीमा र उत्तरदायित्व खोजिरहेको छ।
राजनीतिक शक्तिसँग तीन प्रमुख प्रश्न
प्रवासी समुदायका तर्फबाट उनले सम्बन्धित राजनीतिक शक्तिहरूसँग केही स्पष्ट प्रश्न पनि उठाएका छन्–
विगतमा सरकार, संसद् तथा महत्वपूर्ण मन्त्रालयमा सहभागी हुँदा यी एजेन्डा अघि बढाउन के–कस्ता ठोस पहल गरिए?
किन ती मागहरू समयमै कानुनी संरचनामा रूपान्तरण हुन सकेनन्?
यसपटकका प्रतिबद्धताहरू कार्यान्वयन हुने सुनिश्चितताको आधार, समयसीमा र स्पष्ट रोडम्याप के हो?
उनका अनुसार प्रवासी समुदाय नीति र परिणाममुखी कार्यान्वयनमा विश्वास गर्छ, न कि केवल चुनावी घोषणामा।
सुरक्षित लगानी र विश्वसनीय कानुनी संरचनाको आवश्यकता
विश्वभर फैलिएका नेपालीहरूसँग पूँजी, सीप, ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय नेटवर्क रहेको उल्लेख गर्दै दाहालले भने, “सुरक्षित, पारदर्शी र विश्वसनीय कानुनी तथा संस्थागत ढाँचा निर्माण गर्न सकियो भने प्रवासी पूँजी र ज्ञान समृद्ध नेपाल निर्माणको महत्वपूर्ण आधार बन्न सक्छ।”
हालसम्म स्पष्ट नीतिगत सुनिश्चितताको अभावका कारण प्रवासी स्रोतहरू मातृभूमिको आर्थिक विकासमा पूर्ण रूपमा प्रवाहित हुन नसकेको उनको धारणा छ।
“हामी दल होइन, नीति र कार्यान्वयनका पक्षमा”
दाहालले स्पष्ट पारे, “प्रवासी नेपालीहरू कुनै दल विशेषका पक्षमा होइनन्। हामी नीति, प्रतिबद्धता र कार्यान्वयनका पक्षमा छौं।” जो–कोही राजनीतिक शक्ति वा सरकार प्रवासी नेपालीका मुद्दामा स्पष्ट दृष्टि, उत्तरदायित्व र परिणाममुखी कार्यान्वयनका साथ अघि बढ्छ, प्रवासी समुदाय त्यसैसँग सहकार्य गर्न तत्पर रहने उनको भनाइ छ।
उनी हाल एसोसिएसन अफ नेप्लीज इन द अमेरिकाज (ANA)का उपाध्यक्ष तथा ANA नेपाली अन्तर्राष्ट्रिय सम्मेलन २०२५ का मानार्थ संरक्षकसमेत हुन्।
आगामी निर्वाचनका लागि सबै राजनीतिक दलहरूलाई शुभकामना दिँदै दाहालले यसपटकका प्रतिबद्धताहरू व्यवहारमा रूपान्तरण हुने विश्वास व्यक्त गरेका छन्। “आशा छ, यसपटकका वाचा कार्यान्वयनमा परिणत भई आर्थिक रूपमा सक्षम, लगानीमैत्री र विश्वभरका नेपालीलाई जोड्ने समृद्ध नेपाल निर्माणतर्फ ठोस कदम चालिनेछ,” उनले भने।
