काठमाडौं (जस)– गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका प्रत्यासी रोविन शेरचनले संस्थालाई पुनः एकताबद्ध र सशक्त बनाउने उद्देश्यसहित नेतृत्वमा दाबी गरेको बताएका छन्।
कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद् र कास्की पोखरा समाज जापानद्वारा आइतबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै शेरचनले पछिल्लो समय संस्थाभित्र देखिएको समानान्तर कमिटी गठन र विभाजनको प्रवृत्तिले गैरआवासीय नेपालीका साझा मुद्दा कमजोर बनेकोप्रति चिन्ता व्यक्त गरे।
उनले भने, “हामी अहिले बाह्रौँ अधिवेशनको संघारमा छौँ। विगतमा निर्वाचन प्रक्रियालाई लिएर भएका असमझदारी र बारम्बारको फुटका कारण संस्था नै धराशायी बनेको महसुस गरेको छु। यस्तो अवस्थामा सबै साथीहरूलाई सकारात्मक सोचका साथ एउटै संगठनभित्र अटाउने वातावरण बनाउनु मेरो पहिलो प्राथमिकता हुनेछ।”
शेरचनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर इमानदार नेतृत्व र सकारात्मक परिवर्तनका साथ संस्थालाई अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले आफ्नो चुनावी अभियानअन्तर्गत विश्वभर छरिएका नेपाली समुदायसँग प्रत्यक्ष साक्षात्कार गर्न आगामी शुक्रबारदेखि न्यूयोर्क, डालस, टोरन्टो, युरोप तथा मध्यपूर्वका विभिन्न देशहरूको भ्रमण गर्ने र मार्च ८ सम्म नेपाल पुग्ने जानकारी पनि दिए।
कार्यक्रममा महासचिव पदका उम्मेदवार तथा वर्तमान उपाध्यक्ष रामशरण सिम्खडाले संस्थाको अस्तित्व जोगाउन सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको धारणा राखे।कार्यक्रममा कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिव बानियाँ, कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बाँस्तोला लगायत अग्निधर देवकोटा, केदार कुँवर, तिलक चालिसे, सविन पौडेल, तीर्थ भण्डारी, अञ्जु भण्डारी, सञ्जीव श्रेष्ठ, रवीन बज्राचार्य, सन्तोष तिमल्सिना, विमल सुवेदी, बाबा राजेश्वरी थापा, राजेन्द्र गौतम र मोहन घलेले रोविन शेरचनको उम्मेदवारीप्रति ऐक्यबद्धता जनाउँदै शुभकामना व्यक्त गरेका थिए।