काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं विश्व सम्मेलन तथा महाधिवेशनको सन्दर्भमा रोजिना प्रधान राईले खुल्ला तर्फको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
सन् २००३ मा “नेपालका लागि नेपाली” भन्ने मूलमन्त्रका साथ स्थापना भएको संस्थामा सन् २००७ देखि विभिन्न जिम्मेवारीमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी राई ११औं महाधिवेशनबाट महिला उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो। उहाँका अनुसार उक्त जिम्मेवारी व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण सदस्यहरूबाट प्राप्त विश्वास र भरोसाको प्रतिफल थियो।
संस्थाभित्र देखा परेका चुनौतीहरूलाई आत्मसात गर्दै बृहत् एकता, पारदर्शिता र संस्थागत सुदृढीकरणको पक्षमा आफू निरन्तर उभिएको उहाँले बताउनुभयो। आगामी कार्यकालमा संघलाई अझ सशक्त, एकीकृत र प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहने उहाँको धारणा छ।
राईले खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दिनु व्यक्तिगत महत्वाकांक्षा नभई संस्थाको दीर्घकालीन हित र समृद्धिप्रतिको प्रतिबद्धता भएको स्पष्ट पार्नुभयो।
उहाँले १२औं महाधिवेशनलाई संघको भविष्य निर्धारण गर्ने ऐतिहासिक अवसरका रूपमा उल्लेख गर्दै सम्पूर्ण प्रतिनिधि तथा सदस्यहरूबाट साथ, विश्वास र सहयोगको अपेक्षा गर्नुभएको छ।