लन्डन, बेलायत – प्रतिष्ठित ब्रिटिश–नेपाली उद्यमी ओमन गौचन (ह्यान्सन) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को आगामी निर्वाचनमा युवा उपाध्यक्ष पदका लागि औपचारिक उम्मेदवारी घोषणा गर्नुभएको छ।
उहाँले युवा नेतृत्व, सशक्तीकरण र संस्थागत सुधारलाई आफ्नो अभियानको मुख्य आधार बनाउँदै उम्मेदवारी सार्वजनिक गर्नुभएको हो। शैक्षिक रूपमा एमए, मास्टर इन वेब, CIW प्रोफेशनल, डिप्लोमा तथा ECDL जस्ता अन्तर्राष्ट्रिय योग्यता हासिल गर्नुभएका गौचन प्राविधिक तथा व्यवस्थापकीय क्षेत्रमा अनुभवी मानिन्छन्। सन् २०२१–२०२३ कार्यकालमा उहाँ एनआरएनए एनसीसी यूकेका कार्यकारी सदस्यका रूपमा सक्रिय रहँदै विभिन्न कार्यक्रम, समन्वय र संगठन विस्तारमा भूमिका निर्वाह गर्नुभएको थियो।
उक्त अनुभवले आफूलाई अन्तर्राष्ट्रिय तहमा काम गर्ने क्षमता र दृष्टिकोण दिएको उहाँको भनाइ छ। उम्मेदवारी घोषणा गर्दै गौचनले विश्वभर छरिएर रहेका नेपाली युवाहरूलाई एउटै साझा प्लेटफर्ममा जोड्दै सक्षम, संगठित र सहयोगी नेपाली परिवार निर्माण गर्ने दीर्घकालीन लक्ष्य अघि सार्नुभएको छ।
“युवा केवल भविष्यका नेतृत्वकर्ता मात्र होइनन्, वर्तमानका परिवर्तनका संवाहक पनि हुन्। सशक्त युवा बिना सशक्त एनआरएनएको कल्पना सम्भव छैन,” उहाँले भन्नुभयो, “यो मेरो व्यक्तिगत आकांक्षा होइन, विश्वभरका नेपाली युवाको साझा आवाज र उज्ज्वल भविष्यतर्फको सामूहिक अभियान हो।” गौचनले विशेषगरी दोस्रो र तेस्रो पुस्ताका नेपाली युवालाई संस्थासँग जोड्ने, उनीहरूमा भाषा, संस्कृति र राष्ट्रिय पहिचानप्रति गर्व अभिवृद्धि गर्ने तथा प्रविधि र नवप्रवर्तनमार्फत विश्वव्यापी नेटवर्क सुदृढ गर्ने योजना प्रस्तुत गर्नुभएको छ।
उहाँका अनुसार, प्रवासमा हुर्किरहेका युवालाई मातृभूमिसँग भावनात्मक र व्यावसायिक रूपमा जोड्नु अहिलेको आवश्यकता हो। गौचनका प्रमुख प्रतिबद्धताहरू:
विश्वभर रहेका नेपाली युवाहरूलाई एउटै साझा मञ्चमा जोड्ने उद्देश्यसहित ग्लोबल युवा सञ्जाल निर्माण गर्ने
नेतृत्व विकास, मार्गदर्शन (मेन्टरशिप) तथा व्यावसायिक अवसरहरू सिर्जना गरी युवाहरूलाई सक्षम बनाउने
नवप्रवर्तन, उद्यमशीलता र लगानीका सम्भावनाहरू प्रवर्द्धन गर्दै आर्थिक सशक्तीकरणमा जोड दिने
दोस्रो तथा तेस्रो पुस्ताका नेपाली युवामा मातृभाषा, संस्कृति र राष्ट्रिय पहिचानप्रति गर्वको भावना अभिवृद्धि गर्ने
ICC, NCC तथा स्थानीय नेपाली समुदायबीच प्रभावकारी समन्वय र कार्यसम्पादनको दक्षता सुनिश्चित गर्ने
र पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी नेतृत्वमार्फत संस्थागत सुदृढीकरणमा जोड दिने ।
गौचनले एनआरएनएलाई समयअनुकूल, प्रविधिमैत्री र युवा–केन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गर्दै संगठनलाई विश्वव्यापी नेपालीहरूको साझा घरका रूपमा अझ प्रभावकारी बनाउने लक्ष्य रहेको बताउनुभयो। उहाँले विश्वभरका नेपाली सञ्चारमाध्यम, संघ–संस्था, अभियन्ता र समुदायलाई एकीकृत र भविष्यमुखी एनआरएनए आईसीसी निर्माण अभियानमा साथ दिन आग्रह गर्नुभएको छ। “हामी सबैको एकता र सहकार्यबाट मात्र सशक्त, पारदर्शी र परिणाममुखी संस्था निर्माण सम्भव छ,” उहाँले उल्लेख गर्नुभयो।