April 19, 2026
Trending
Follow Us :

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाबारे एनआरएनएको सरकारसँग ध्यानाकर्षण

काठमाडौं — मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिका कारण त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयलाई प्रभावकारी बनाउन गैरआवासीय नेपाली संघ ले सरकारको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा. बद्री केसी को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई लाई भेटेर समसामयिक अवस्थाबारे छलफल गरेको हो।

भेटका क्रममा अध्यक्ष केसीले मध्यपूर्व क्षेत्रका प्रमुख श्रम गन्तव्य मुलुकहरूमा त्रास र अनिश्चितता बढेको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे संघले नजिकबाट अनुगमन गरिरहेको जानकारी गराए। गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् ले विगतमा कोभिड–१९ महामारीका समयमा सञ्चालन गरेको रिलिफ, रिपेट्रिएसन एण्ड रिह्याबिलिटेसन (आरआरआर) कार्यक्रममार्फत विभिन्न देशमा समस्यामा परेका नेपालीहरूको उद्धार, स्वदेश फिर्ती तथा पुनर्स्थापनामा प्रभावकारी भूमिका खेलेको स्मरण गराउँदै उनले वर्तमान परिस्थितिमा पनि आवश्यक सहयोगका लागि संघ पूर्ण रूपमा तयार रहेको बताए।

संघले परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बीच उच्चस्तरीय समन्वय स्थापना गरी आपतकालीन संयन्त्र यथाशीघ्र निर्माण गर्न आग्रह गरेको छ। आवश्यक परेमा उद्धार, सुरक्षित स्थानान्तरण तथा राहत व्यवस्थापनमा सरकारसँग सहकार्य गर्न संघ तत्पर रहेको पनि जनाइएको छ।

यस क्रममा सचिव राईले पश्चिम एसिया क्षेत्रमा विकसित परिस्थितिपछि त्यहाँ रहेका लाखौँ नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गरी काम सुरु गरिएको जानकारी दिए। मन्त्रीस्तरीय निर्णयअनुसार परराष्ट्र सचिवको संयोजकत्वमा गठित उक्त टिममा गैरआवासीय नेपाली संघलाई समेत समेटेर अघि बढाइने उनले बताए। टोलीले सम्बन्धित निकाय तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्दै आवश्यक कदम चाल्नेछ र प्रभावित क्षेत्रका नेपालीलाई नियमित सूचना तथा आवश्यक सहायता उपलब्ध गराइने व्यवस्था मिलाइएको जनाइएको छ।

सरकारले अनलाइन पोर्टलमार्फत आफ्ना समस्या तथा जिज्ञासा दर्ता गराउन सक्ने व्यवस्था समेत सुरु गरेको उल्लेख गर्दै सचिव राईले सहकार्यका लागि सरकार सधैँ तयार रहेको बताए।

उक्त भेटमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री, श्रम आप्रवासन तथा गैरआवासीय नेपाली समन्वय महाशाखा प्रमुख पुष्पराज भट्टराई, पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्का, उपसचिव (कानुन) राजाराम दाहाल तथा संघका तर्फबाट आईसीसी सचिव पारसमणि पोखरेल, आईसीसी सदस्य भविन्द्र बस्नेत, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्र लक्ष्मी घिमिरे को उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.