२६ फागुन, काठमाडौं । नेपालका एकमात्र अर्बपति विनोद चौधरी विश्वकै धनी व्यक्तिहरूको सूचीमा १९८२औँ स्थानमा पुगेका छन्। फोर्ब्स ले सार्वजनिक गरेको सन् २०२६ को विश्व अर्बपति सूची अनुसार चौधरीको कुल सम्पत्ति करिब दुई अर्ब एक करोड अमेरिकी डलर पुगेको छ।
सन् २०२५ मा उनी १७६३औँ स्थानमा थिए। त्यसबेला उनको सम्पत्ति करिब दुई अर्ब डलर रहेको फोर्ब्सले जनाएको थियो। पछिल्लो एक वर्षमा उनको सम्पत्ति करिब दश करोड अमेरिकी डलरले वृद्धि भएको देखिएको छ।
विनोद चौधरी दक्षिण एसियामा भारतीय अर्बपतिहरू बाहेक फोर्ब्सको सूचीमा पर्ने एकमात्र व्यक्ति हुन्। सार्क क्षेत्रका अन्य देशका कुनै पनि व्यक्ति यस सूचीमा समावेश भएका छैनन्।
सन् २०१९ मा उनी १३४९औँ स्थानमा रहेका थिए। तर कोभिड–१९ महामारीको समयमा उनको सम्पत्तिमा केही कमी आएको थियो। पछिल्ला वर्षमा व्यवसाय विस्तार र लगानीका कारण उनले पुनः आफ्नो आर्थिक स्थिति सुधार गर्न सफल भएका छन्।
यस वर्षको फोर्ब्स सूचीमा पहिलो स्थानमा अमेरिकी अर्बपति इलोन मस्क रहेका छन्। दोस्रो स्थानमा अमेरिकी अर्बपति ल्यारी पेज रहेका छन्। फोर्ब्सका अनुसार विश्वका अर्बपतिहरूमा सबैभन्दा धेरै अमेरिकी, चिनियाँ र भारतीय नागरिक रहेका छन्।