April 19, 2026
Trending
Follow Us :

कर्जा माग बढ्दा आर्थिक गतिविधिमा सुधारको संकेत

२७ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा बढ्न थालेसँगै अर्थतन्त्रमा केही सुधारको संकेत देखिएको छ। पछिल्लो समय कर्जा माग बढ्नुका साथै प्रतिनिधिसभा निर्वाचनले पनि आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुगेको बताइएको छ।

कोरोना महामारी र त्यसपछिको आर्थिक सुस्तताका कारण लामो समय दबाबमा रहेको अर्थतन्त्र चालु आर्थिक वर्षमा भने क्रमशः चलायमान हुन थालेको देखिएको छ। केन्द्रीय बैंकका अनुसार निजी क्षेत्रमा कर्जा प्रवाह बढ्नु, बाह्य क्षेत्रमा सुधार आउनु र निर्वाचनका कारण खर्च बढ्नुले आर्थिक गतिविधि विस्तार हुन मद्दत पुगेको हो।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेर ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कर्जा २ खर्ब २१ अर्ब ८४ करोडले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कर्जा ५.६ प्रतिशत अर्थात् २ खर्ब ८३ अर्ब ४६ करोडले बढेको थियो।

वार्षिक आधारमा हेर्दा २०८२ माघ मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ६.८ प्रतिशतले बढेको छ। साथै पुस महिनाको तुलनामा पनि कर्जा विस्तारको दर बढेको देखिएको छ। पुसमा ३.६ प्रतिशत रहेको कर्जा वृद्धिदर माघमा ४ प्रतिशत पुगेको केन्द्रीय बैंकले जनाएको छ।

माघ मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये ६२.६ प्रतिशत गैरवित्तीय संस्थागत क्षेत्रमा गएको छ भने ३७.४ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा क्रमशः ६३.८ प्रतिशत र ३६.२ प्रतिशत थियो।

कर्जा प्रवाहमा वाणिज्य बैंकहरू अगाडि देखिएका छन्। माघसम्म वाणिज्य बैंकहरूको कर्जा ४.२ प्रतिशतले बढेको छ भने विकास बैंकको ३ प्रतिशत र वित्त कम्पनीको १.८ प्रतिशतले वृद्धि भएको छ।

क्षेत्रगत रूपमा हेर्दा उपभोग्य क्षेत्रमा कर्जा १०.६ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्रमा ८.७ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ६.८ प्रतिशत वृद्धि भएको छ। औद्योगिक उत्पादन क्षेत्रमा ४.८ प्रतिशत र सेवा उद्योगतर्फ १.१ प्रतिशतले कर्जा बढेको छ।

यद्यपि कृषि क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले घटेको छ भने वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।

कर्जाका प्रकारमध्ये ट्रस्ट रिसिट (आयात) कर्जा १६.२ प्रतिशतले बढेको छ। त्यसपछि मार्जिन प्रकृतिको कर्जा ११ प्रतिशत, हायर पर्चेज ९.३ प्रतिशत, आवधिक कर्जा ३.१ प्रतिशत, रियल इस्टेट कर्जा २.५ प्रतिशत, क्यास क्रेडिट २.१ प्रतिशत र माग तथा अन्य चालु पूँजी कर्जा १.८ प्रतिशतले वृद्धि भएको छ।

तर अधिविकर्ष कर्जा भने ३.४ प्रतिशतले घटेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.