April 19, 2026
Trending
Follow Us :

युरोपमा नेपाली श्रमिक र विद्यार्थीको सुरक्षा: संयुक्त प्रयास अपरिहार्य — राजदूत सुम्निमा तुलाधर

काठमाडौं : डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधर ले युरोपमा बढ्दो नेपाली उपस्थिति सँगै उनीहरूको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य अत्यन्त आवश्यक भएको बताउनुभएको छ। उहाँले सन् २०२६ मार्च २३ मा सम्पन्न नेपाल दूतावास र फिनल्याण्डको न्याय मन्त्रालयबीचको उच्चस्तरीय परामर्श बैठकलाई समयसापेक्ष र महत्वपूर्ण पहलका रूपमा उल्लेख गर्नुभयो।

उक्त बैठकमा फिनल्याण्डका विभिन्न सरकारी निकायहरूको सक्रिय सहभागिता रहेको थियो।

राजदूत तुलाधरका अनुसार फिनल्याण्डजस्ता युरोपेली देशहरू नेपाली युवाहरूका लागि शिक्षा र रोजगारीका आकर्षक गन्तव्य बन्दै गएका छन्। तर, यससँगै श्रम शोषण र मानव बेचबिखनजस्ता जोखिमहरू पनि बढ्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो।

बैठकमा विशेषगरी नेपाली रेस्टुरेन्टमा कार्यरत श्रमिक तथा विद्यार्थीसँग सम्बन्धित केही घटनाहरूको समीक्षा गरिएको थियो। ती घटनाहरूले थप सचेत हुन र प्रभावकारी रोकथामका उपायहरू अपनाउन आवश्यक रहेको निष्कर्ष निकालिएको उहाँले बताउनुभयो।

उहाँले नेपाल सरकारको जिम्मेवारीबारे स्पष्ट पार्दै विदेश जानुअघि नै नागरिकहरूलाई गन्तव्य देशका कानुन, श्रम मापदण्ड तथा अधिकारबारे पर्याप्त जानकारी दिनुपर्नेमा जोड दिनुभयो। साथै, नेपालस्थित फिनल्याण्ड दूतावाससँग सहकार्य गर्दै सचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

राजदूत तुलाधरले गलत सूचना, अपारदर्शी एजेन्सीहरूको गतिविधि र अपर्याप्त तयारीका कारण नेपालीहरू जोखिममा पर्ने गरेको उल्लेख गर्दै सूचना प्रणालीलाई विश्वसनीय र व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले मानव बेचबिखन तथा श्रम शोषणजस्ता जटिल समस्याहरू समाधान गर्न बहुपक्षीय सहकार्य, सूचना आदानप्रदान र समन्वय अपरिहार्य रहेको बताउनुभयो। साथै, बैठक आयोजना तथा सहजीकरणका लागि फिनल्याण्ड सरकार र सहभागी सबै निकायप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.