काठमाडौं : नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष आयोजित कार्यक्रममा उनले शपथ लिँदै औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन्।
नेपाल सरकार (मन्त्रिपरिषद्)को २०८२ चैत २४ गतेको निर्णयअनुसार पण्डित डेपुटी गभर्नरमा नियुक्त भएका हुन्। शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले पण्डितलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
पण्डितले २०५२ माघ २ गते सहायक निर्देशकका रूपमा नेपाल राष्ट्र बैंकमा सेवा सुरु गरेका थिए। लामो अनुभव सँगालेका उनले २०७५ सालमा उपनिर्देशक, २०७८ मा निर्देशक र २०७९ फागुन १ गते कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए।
कार्यकारी निर्देशकका रूपमा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्व गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनको नियुक्तिसँगै नेपाल राष्ट्र बैंकको नेतृत्व थप सुदृढ हुने विश्वास गरिएको छ।