काठमाडौं : नेपाली खेलाडी एरिका गुरुङ चीनमा जारी कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छन्।
सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेअ लाई ८–३ ले पराजित गर्दै एरिका उपाधि नजिक पुगेकी हुन्। अब उनले स्वर्ण पदकका लागि कजाखस्तानकी सोफिया बेरुत्सेभा सँग प्रतिस्पर्धा गर्नेछिन्। फाइनल खेल भोलि हुने तय भएको छ।
यसअघि टर्किएमा सम्पन्न कराते वान प्रिमियर लिगको फाइनलमा पनि एरिकाले सोफियासँग प्रतिस्पर्धा गरेकी थिइन्, जहाँ उनी पराजित भएकी थिइन्। यसपटक भने एरिका उक्त हारको बदला लिँदै स्वर्ण जित्ने लक्ष्यमा छिन्।
क्वाटरफाइनलमा एरिकाले स्लोभाकियाकी मारिया जिबरेत जाला लाई ८–० ले सहज रूपमा हराएकी थिइन्। त्यसअघि समूह चरणमा उनले लगातार तीन खेल जितेकी थिइन्।
समूह चरणमा एरिकाले मोन्टेनेग्रोकी जोमाना डामजानोभिच लाई २–० ले हराइन् भने दोस्रो खेलमा डब्लुकेएफकी मारिया मालाखाभा सँग १–१ को बराबरीपछि सेन्सुका आधारमा जित हासिल गरिन्। तेस्रो खेलमा जर्मनीकी जोहान्ना कानिर लाई २–१ ले पराजित गर्दै उनी समूह विजेता बनेकी थिइन्।
एरिकाका प्रशिक्षक कुशल श्रेष्ठ ले उनको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गर्दै पछिल्ला राउन्डहरूमा अझ राम्रो रणनीतिक खेल देखिएको बताए। “आजको समग्र खेल राम्रो भयो, विशेषगरी तेस्रो र चौथो राउन्डमा उत्कृष्ट प्रदर्शन देखियो,” उनले भने, “अब हाम्रो लक्ष्य स्वर्ण पदक हो। सोफिया हाम्रो लागि परिचित प्रतिद्वन्द्वी हुन्, यसपटक जित्नेमा विश्वस्त छौं।”