फागुन, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनअघिको अन्तिम कारोबार दिन सेयर बजारमा उत्साह देखिएको छ। आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १९.२७ अंकले बढेर २६७४.२० बिन्दुमा पुगेको छ। कारोबार सुरु हुँदा नेप्से २६ अंकसम्म घटेर २६५४.९३ बिन्दुसम्म झरेको थियो, तर मध्यसमयपछि बजारमा सुधार आउँदा अन्त्यमा दोहोरो अंकको वृद्धिसहित बन्द भयो। सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंकले बढेको छ।
आइतबार ३४१ कम्पनीको ५५ हजार २ सय ६ पटकको कारोबारबाट १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन गत बिहीबारको तुलनामा बढी हो। कारोबार भएका कम्पनीमध्ये १८७ वटाको मूल्य बढ्दा ६४ वटाको घटेको र ११ वटाको मूल्य स्थिर रहेको छ। सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ।
बैंकिङदेखि बीमा, जलविद्युत् र उत्पादनमूलक समूहसम्म सबै उपसूचक हरियो देखिएका छन्। सोमबार होलीका कारण सार्वजनिक बिदा र त्यसपछि निर्वाचनका लागि तीन दिन बिदा रहने भएकाले यो साता बजार बन्द हुनेछ। निर्वाचनअघिको अन्तिम दिन लगानीकर्ताले सक्रिय रूपमा किनबेच गर्दा बजारमा सकारात्मक माहोल देखिएको हो।