काठमाडौं : नेपाल केवल भौगोलिक सीमाभित्र सीमित राष्ट्र होइन; यो शाश्वत परम्परा, अटल आस्था र अखण्ड सांस्कृतिक चेतनाको जीवन्त प्रतीक हो। यहाँको सामाजिक संरचना हजारौँ वर्षदेखि वर्णाश्रम सनातन धर्मको आधारमा संयोजित हुँदै आएको छ। यस व्यवस्थाले केवल कर्तव्यको विभाजन मात्र गरेन, अपितु समाजलाई एकताको सूत्रमा आबद्ध गर्यो। यही कर्तव्यपरायणता र धर्मनिष्ठाले नेपाली समाजलाई स्थायित्व र निरन्तरता प्रदान गर्यो।
हिमाल कहिल्यै झुकेको छैन—हाम्रो झण्डा पनि कहिल्यै झुकेको छैन। हिमालजस्तै अटल छ यहाँको आत्मबल। तराई कहिल्यै सुकेको छैन—त्यसजस्तै उर्वर छ यहाँको जीवनशक्ति। भावर कहिल्यै लरखरिएको छैन—त्यसजस्तै दृढ छ हाम्रो आधारभूमि। यी केवल प्राकृतिक उपमा होइनन्; यी हाम्रो सभ्यताको चरित्रका प्रतीक हुन्।
नेपालको सभ्यता अचल छ, किनकि यसको जरा सनातन धर्ममा गडिएको छ। सनातन भनेको कालातीत—जो समयको परिवर्तनसँगै पनि आफ्नो मूल स्वरूपमा अविचल रहन्छ। यहाँको परम्परा, संस्कार, पर्व–उत्सव, गुरुकुल परम्परा, ऋषि–मुनिहरूको तपश्चर्या—यी सबैले यस भूमिलाई शाश्वत चेतनाले ओतप्रोत बनाएका छन्। यही गुरुकुलीय संस्कारले राजनीति समेतलाई मूल्य, मर्यादा र कर्तव्यबोधको पाठ पढाएको छ।
हामी शाश्वत छौँ, किनकि हाम्रो अस्तित्व केवल वर्तमानमा सीमित छैन; यो अतीतको तप, वर्तमानको साधना र भविष्यको सम्भावनासँग गाँसिएको छ। हामी सनातन छौँ, किनकि हाम्रो मान्यता समयानुसार रूपान्तरित भए पनि यसको मूल आत्मा कहिल्यै मर्दैन।
यसैले नेपालको सभ्यता अखण्ड छ, अजर छ, अमर छ। जबसम्म हिमाल अटल रहन्छन्, जबसम्म गङ्गा–कर्णालीका धाराहरू अविरल बगिरहन्छन्, तबसम्म यो भूमि शाश्वत र सनातन चेतनाको केन्द्र बनी रहनेछ। लेखक : बासुदेव कृष्ण शास्त्री