फागुन, काठमाडौँ : लोकतन्त्रको मूल भावना जनताको स्वतन्त्र इच्छा, उत्तरदायित्व र जनहितमा आधारित शासन व्यवस्था हो। तर जब प्रजातन्त्रलाई केही सीमित दल, गुट वा स्वार्थ समूहहरूले आफ्नो घरभित्र बाँधेको वस्तु जस्तो बनाउँछन्, तब त्यसको आत्मा कमजोर हुन थाल्छ। जनतालाई स्वतन्त्र नागरिकको रूपमा होइन, घरमा पालिएका गाई–गोरु जस्तै कहिले यो चिन्हमा भोट हाल, कहिले त्यो चिन्हमा भोट हाल, कहिले यसलाई समर्थन गर, कहिले उसलाई समर्थन गर भनेर निर्देशन दिने अभ्यास बढ्दै जान्छ भने त्यो प्रजातन्त्रको वास्तविक मूल्य र मर्यादामाथि प्रश्न उठ्छ।
आज हाम्रो समाजमा एउटा गम्भीर प्रश्न उभिएको छ—के प्रजातन्त्र जनताको लागि हो, कि केही दल र नेताहरूको स्वार्थका लागि? माथिल्लो तहमा दलहरूबीच समझदारी र सहमति भइरहने, तर तल जनतालाई आपसमा लडाइराख्ने, विभाजन गरिराख्ने प्रवृत्तिले समाजमा अविश्वास, वैमनस्य र असन्तोष बढाइरहेको छ। यसले राष्ट्रिय एकता, सामाजिक सद्भाव र दीर्घकालीन स्थायित्वलाई कमजोर बनाउँछ।
त्यसकारण अब समय आएको छ—दल, नेता र राजनीतिक कार्यकर्ताहरू सबैले आफ्नै छातीमा हात राखेर आत्मपरीक्षण गर्ने। पछिल्ला सैंतीस वर्षको राजनीतिक यात्रामा के–कस्ता कर्म भए? के सुकर्म भए? के गल्ती भए? राष्ट्र, समाज र जनताको हितमा के योगदान पुगे? यी सबै कुराको गम्भीर विचार, विश्लेषण र मूल्याङ्कन हुनुपर्छ।
प्रजातन्त्र केवल निर्वाचनको प्रक्रिया मात्र होइन; यो नैतिकता, जिम्मेवारी, पारदर्शिता र जनसेवाको संस्कार हो। जब राजनीतिक नेतृत्वले आफ्नो कर्तव्यलाई इमान्दारीपूर्वक आत्मसात् गर्छ, तब मात्र प्रजातन्त्र बलियो हुन्छ। अन्यथा, प्रजातन्त्रको नाममा चल्ने व्यवस्था पनि जनताको विश्वास गुमाउन सक्छ।
अन्ततः, आजको सबैभन्दा ठूलो आवश्यकता भनेको आत्मपरीक्षण, जिम्मेवारीबोध र राष्ट्रप्रति समर्पण हो। जनतालाई विभाजन गरेर होइन, एकताबद्ध गरेर मात्र सच्चा प्रजातन्त्र सुदृढ हुन सक्छ। जब नेतृत्वले आफ्ना कर्म, सुकर्म र अकर्मको निष्पक्ष मूल्याङ्क्कन गर्दै सुधारको मार्ग रोज्छ, तब मात्र राष्ट्र बलियो बन्छ, समाजमा विश्वास बढ्छ र प्रजातन्त्र आफ्नो वास्तविक गौरवका साथ अगाडि बढ्न सक्छ। लेखक : बासुदेव कृष्ण शास्त्री