काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै रोजिना प्रधान राईले उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारीसँगै प्रतिबद्धतापत्र सार्वजनिक गरेकी छन्।
राईले गैरआवासीय नेपालीहरूको हक, हित र अधिकार संरक्षणलाई केन्द्रमा राख्दै विभिन्न क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन्। उनले विशेष गरी महिला अधिकार, अवसर र सशक्तीकरणलाई प्राथमिकतामा राख्ने बताएकी छन्।
उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको अधिकार सुनिश्चित गर्ने, मृत्यु तथा दुर्घटनामा परेका श्रमिकका परिवारलाई क्षतिपूर्ति र संरक्षण दिलाउने तथा श्रम सम्झौतालाई थप सुरक्षित र पारदर्शी बनाउने विषय समेटिएका छन्।
त्यस्तै, स्वदेश फर्किएका श्रमिकहरूको सीप विकास र पुनःस्थापना, लगानी, रेमिट्यान्स र आर्थिक सहभागितालाई प्रोत्साहन गर्ने योजना पनि उनले अघि सारेकी छन्। संस्थागत रूपमा एनआरएनएलाई अझ लोकतान्त्रिक, पारदर्शी र सदस्यमैत्री बनाउने प्रतिबद्धता पनि राईले व्यक्त गरेकी छन्।
युवाहरू, दोस्रो पुस्ता, खेलकुद तथा सामाजिक सहभागितालाई विस्तार गर्ने, ज्ञान, नीति तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउने तथा पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमा भूमिका खेल्ने विषय पनि उनको एजेन्डामा समेटिएको छ।
एनआरएनएको १२औँ महाधिवेशन यही मार्च १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने तयारी रहेको छ, जहाँ नयाँ नेतृत्व चयन गरिनेछ।