काठमाण्डौ, ५ चैत्र । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उनी स्वयं सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहसँग पराजित भएका थिए।
थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चुनिएका थापाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी मात्र ३८ सिटमा चित्त बुझाउनु परेको छ। रास्वपाले झन्डै दुई तिहाइ बहुमत हासिल गर्दा कांग्रेसका सबै पदाधिकारी चुनावमा पराजित भएका छन्।
पार्टीभित्रको असन्तुष्ट पक्ष (देउवा समूह) ले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै अदालतमा मुद्दा दायर गरेको पृष्ठभूमिमा यो चुनावी परिणामले थापालाई थप दबाबमा पारेको थियो। यद्यपि, प्रवक्ता देवराज चालिसेले राजीनामाको औपचारिक पुष्टि हुन बाँकी रहेको र शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा यसबारे छलफल हुने बताएका छन्।
पार्टीका शुभचिन्तकहरूले राजीनामा नदिन दबाब दिए पनि थापाले ‘नैतिकताको राजनीति’ भन्दै पद त्याग्ने निर्णय लिएका हुन्। शुक्रबारको बैठकले थापाको राजीनामा स्वीकृत गर्ने वा अस्वीकार गर्ने भन्नेबारे अन्तिम निर्णय लिनेछ, जसले कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्नेछ।