काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सहयोगका लागि १ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गरेको छ। संघको १२औँ महाधिवेशनपछि बनेको नयाँ कार्यसमितिको बुधबार बसेको बैठकले यो निर्णय गरेको अध्यक्ष डा. हेमराज शर्माले जानकारी दिए।
बैठकले पदाधिकारी तथा सदस्यहरूबाट कम्तीमा १ करोड रुपैयाँ संकलन गर्ने र उक्त रकमलाई विशेष टास्क फोर्समार्फत आवश्यक क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ। संघमा हाल करिब १ लाख ३० हजार सदस्य रहेका छन्, जसबाट प्रत्येक सदस्यबाट न्यूनतम १ डलर संकलन गर्ने लक्ष्य पनि तय गरिएको छ। यस कोषलाई कार्यकाल अवधिमा ६ करोड रुपैयाँसम्म पुर्याउने उद्देश्य राखिएको छ।
यससँगै, संघका पदाधिकारीहरूले कुनै पनि राजनीतिक दल वा सम्बन्धित संगठनसँग आबद्ध नहुने प्रतिबद्धता जनाएका छन्। सामाजिक सञ्जालमा राजनीतिक टिप्पणी, अपमानजनक अभिव्यक्ति वा व्यक्तिगत आक्रमण नगर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको बताइएको छ। राजनीतिक दलमा आवद्ध पदाधिकारीहरूले आवश्यक परे राजीनामा दिने तयारीसमेत गरेका छन्।
बैठकमा सचिवालय व्यवस्थापनलगायत विभिन्न प्रशासनिक विषयमा पनि निर्णय गरिएको छ। नवगठित कार्यसमितिको बैठक शुक्रबारसम्म सञ्चालन हुने जनाइएको छ।