१३ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै मन्त्रालयका कामकारबाहीलाई प्रभावकारी बनाउन ‘एकद्वार प्रणाली’ लागू गर्ने घोषणा गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहपछि सिंहदरबार पुगेर उनले औपचारिक रूपमा पदभार सम्हालेका हुन्।
पदभार ग्रहण कार्यक्रम सम्पन्न गरेपछि मन्त्री गुरुङ केहीबेरमै मन्त्रालयबाट बाहिरिएका थिए। विशेष कुरा के छ भने, उनले आफैंले आफ्नै व्यक्तिगत गाडी चलाएर मन्त्रालयबाट बाहिरिएका थिए, जसले सादगी र व्यवहारिकताको सन्देश दिएको छ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले भीआईपी लावालस्करका कारण जनतालाई दुःख दिने कार्य अस्वीकार्य हुने स्पष्ट पारे। “कम बोल्ने मान्छे हुँ, एक्सनमा जान्छु,” उनले भने, “जेनजीको अपेक्षा अनुसार हामी आएका हौं, सुशासनविरुद्ध कुनै पनि काम हुन सक्दैन।”
उनले सेवा प्रवाह (सर्भिस डेलिभरी) सम्बन्धी गुनासा आउन नदिन कर्मचारीहरूलाई सचेत रहन आग्रह गर्दै जनमुखी प्रशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
गृहमन्त्री गुरुङको यो प्रारम्भिक सन्देशले सुशासन, सरलता र प्रभावकारी सेवा प्रवाहतर्फ सरकारको ध्यान केन्द्रित हुने संकेत गरेको छ।