पूर्व प्रधानमन्त्री सुशीला कार्कीको कार्यकाल औपचारिक रूपमा समाप्त, नयाँ नेतृत्वप्रति विश्वास व्यक्त
काठमाडौं — आजदेखि आफ्नो सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको बताउँदै पूर्व प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्रको नेतृत्व गर्ने अवसर पाएको समयलाई चुनौतीपूर्ण तर सफल अनुभवका रूपमा स्मरण गर्नुभएको छ।
उहाँले कठिन परिस्थितिमा पनि सबै पक्षको सहकार्य, समन्वय र संयमका कारण तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सक्रिय सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।
पूर्व प्रधानमन्त्री कार्कीले अब जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू निश्चिन्त भएको बताउँदै नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई अझ समृद्ध र स्थिर भविष्यतर्फ डोर्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले आफ्नो कार्यकालभर साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण नेपाली नागरिक, सहकर्मी तथा सरोकारवालाहरूप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्नुभएको छ।