विदेशमै नेपालीपनको झल्को: बेल्जियममा रहेका नेपालीद्वारा पारिवारिक वातावरणमा भ्रमण आयोजना
काठमाडौं – जहाँ पुगे पनि मिलेर बस्ने, एकअर्कालाई साथ दिने र पारिवारिक वातावरण सिर्जना गर्ने नेपालीहरूको संस्कार फेरि एकपटक विदेशमै देखिएको छ। बेल्जियममा क्रियाशील सामाजिक संस्था चितवन सहायता कोष बेल्जियम ले आगामी १३ अप्रिल २०२६ मा नेदरल्यान्ड्सको प्रसिद्ध फूलबारी केउकेनहफ को एकदिने भ्रमण आयोजना गर्ने भएको छ।
सन २००५ देखि बेल्जियममा बसोवास गर्दै आएका नेपालीहरूको सहयोग र आत्मीयतामा सञ्चालन हुँदै आएको उक्त संस्थाले विगतका वर्षहरूझैं यस वर्ष पनि नेपालीहरूबीच आपसी सद्भाव, मेलमिलाप र मनोरञ्जनलाई जोड दिँदै कार्यक्रम आयोजना गरेको जनाएको छ।
आयोजकका अनुसार, व्यस्त युरोपेली जीवनशैलीबाट केही समय निकालेर आफ्नै भाषा, संस्कार र संस्कृतिसँग नजिक रहँदै रमाइलो गर्ने उद्देश्यले भ्रमणको योजना बनाइएको हो। यसले विदेशमा रहेका नेपालीहरूलाई परिवारझैं एक ठाउँमा भेला गराउने विश्वास लिइएको छ।
बेल्जियमका विभिन्न शहरबाट सहभागी हुने गरी आयोजना गरिएको यस भ्रमणमा त्यहाँ बसोवास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागिताका लागि हार्दिक अनुरोध गरिएको छ। साथै सोही दिन अन्य संघ–संस्थाले कार्यक्रम नराखी सहयोग गरिदिन पनि आग्रह गरिएको छ।
यस किसिमका गतिविधिले विदेशमा रहे पनि नेपाली समुदायबीचको एकता, सहयोग र पारिवारिक भावना अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
भ्रमणको थप जानकारीका लागि कोषका कार्यसमितिका सदस्यहरूसँग सम्पर्क गर्न सकिनेछ।
कार्यक्रम संयोजक: सुमन बराल , तेजेन्द्र कंडेल , मोहन केसी, सन्तोष पौडेल , सन्तोष लामिछाने
लुभेनबाट सम्पर्क व्यक्तिहरू:
सिता खरेल सापकोटा , शान्ति भट्टराई , रामचन्द्र सापकोटा , कस्तुप खनाल