April 19, 2026
Trending
Follow Us :

नैतिक शिक्षा, ध्यान–योग र संस्कृत विषय पुनः स्थापना गरियोस् ,कृष्ण पन्थी

काठमाडौँ — नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको औंल्याउँदै नैतिक शिक्षा, ध्यान–योग तथा संस्कृत विषयलाई पुनः पाठ्यक्रममा समावेश गर्न गैरआवासीय नेपाली संघ एनआरएनए एनसीसी कतार का अध्यक्ष तथा नेपाल थट्स डटकम कतार सल्लाहकार कृष्ण पन्थी ले सशक्त माग गर्नुभएको छ।

अध्यक्ष पन्थीले जारी गर्नुभएको विचारमा विद्यालयमा पढाइने नैतिक शिक्षा केवल विषय नभई जीवन जिउने आधार भएको उल्लेख गर्नुभएको छ। उहाँले त्यसले अनुशासन, इमानदारी, कर्तव्यबोध, सहकार्य, सहिष्णुता र राष्ट्रप्रतिको जिम्मेवारी विकास गर्ने बताउनुभएको छ।

उहाँका अनुसार समयक्रममा यस्तो महत्वपूर्ण विषय पाठ्यक्रमबाट हटाइँदा त्यसको नकारात्मक असर समाजमा देखिन थालेको छ। देशमा बढ्दो अनुशासनहीनता, भ्रष्टाचार, जिम्मेवारीहीनता र सामाजिक मूल्य–मान्यताको क्षय शिक्षा प्रणालीकै कमजोरीको परिणाम भएको उहाँको भनाइ छ।

पन्थीले स्पष्ट रूपमा “सिर्फ शैक्षिक डिग्रीले मात्र देश नबन्ने, नैतिक र चरित्रवान नागरिकले मात्र समृद्ध राष्ट्र निर्माण गर्ने” उल्लेख गर्दै शिक्षा प्रणालीमा मूल्य–आधारित सुधार आवश्यक रहेको बताउनुभएको छ।

उहाँले सरकारसमक्ष चार बुँदे माग अघि सार्नुभएको छ:

  • विद्यालय तहदेखि नै नैतिक शिक्षा अनिवार्य रूपमा पुनः लागू गरिनुपर्ने
  • विद्यार्थीको मानसिक स्वास्थ्य र एकाग्रताका लागि ध्यान र योगलाई पाठ्यक्रममा समावेश गरिनुपर्ने
  • संस्कृत विषयलाई वैकल्पिक रूपमा पुनः सुरु गरिनुपर्ने
  • शिक्षा प्रणालीलाई केवल परीक्षा र अंकमा सीमित नराखी व्यवहार, चरित्र र सामाजिक योगदानमा आधारित बनाइनुपर्ने

उहाँले आजको आवश्यकता केवल शैक्षिक उत्कृष्टता मात्र नभई “भित्री उत्कृष्टता” र “राष्ट्रिय चरित्र निर्माण” भएको उल्लेख गर्नुभएको छ।

शिक्षा प्रणालीमा समयमै सुधार नगरे भावी पुस्ता दक्ष जनशक्ति त बन्ने तर जिम्मेवार नागरिक बन्न नसक्ने चेतावनी दिँदै पन्थीले बलियो राष्ट्र निर्माणको आधार कक्षा कोठाबाट सुरु हुने बताउनुभएको छ।

अन्त्यमा उहाँले शिक्षा मन्त्रीलाई सम्बोधन गर्दै यो विषय केवल सुझाव नभई समयको माग भएको उल्लेख गर्दै देश र भावी पुस्ताको भविष्य सुनिश्चित गर्न नैतिक शिक्षा, ध्यान–योग र संस्कृत विषयलाई तत्काल पाठ्यक्रममा समावेश गर्न आग्रह गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.