युरोपमा नेपाली महिलाको योगदानलाई सम्मान गर्दै “You Lead – We Elevate” भर्चुअल कार्यक्रम आयोजना हुँदै
काठमाडौँ — गैरआवासीय नेपाली संघ ( एनआरएनए ) युरोप क्षेत्रीय समितिको आयोजनामा आज साँझ एक विशेष भर्चुअल कार्यक्रम “नेतृत्व तपाईँको – सफलता हाम्रो (You Lead – We Elevate)” सञ्चालन हुँदैछ। कार्यक्रम नेपाली महिलाहरूको नेतृत्व, योगदान र अनुभवलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको हो।
एनआरएनए युरोप संयोजक रोबट लिम्बुको संयोजकत्वमा आयोजना हुन लागेको उक्त कार्यक्रममा युरोप क्षेत्रमा एनआरएनएको यात्रा सफल बनाउन योगदान पुर्याएका महिला पूर्व पदाधिकारीहरूको सम्मान गरिनेछ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौडेल सहभागी रहनेछिन्। त्यस्तै, विशिष्ट अतिथिहरूमा बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधर, एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा तथा महिला उपाध्यक्ष राधिका गुरुङ (टिका) रहनेछन्।
आज (आइतबार) साँझ ६:०० बजे (नेपाल समय) तथा दिउँसो २:१५ बजे (युरोप समय) जूममार्फत सञ्चालन हुने कार्यक्रममा सम्पूर्ण महिला अभियन्ता, पेशाकर्मी तथा नेतृत्वमा रुचि राख्ने सबैलाई सहभागी हुन हार्दिक अनुरोध गरिएको छ।
कार्यक्रममार्फत महिला नेतृत्व विकास, प्रेरणा, अनुभव आदानप्रदान तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिलाहरूको योगदानलाई थप उजागर गरिने अपेक्षा गरिएको छ।
कार्यक्रम आयोजक तथा एनआरएनए महिला उपाध्यक्ष राधिका गुरुङ (टिका)ले सबैलाई कार्यक्रममा सहभागी भई प्रेरणा लिन अनुरोध गरेकी छिन्।