April 19, 2026
Trending
Follow Us :

युवाको नेतृत्वमा बदलिँदो नेपालको चित्र ,मदनकृष्ण श्रेष्ठ

काठमाडौं : नेपाली जनताहरू अहिले नेपालमा नयाँ युग सुरु हुन लागेको अनुभूति गरिरहेका छन्।

केही वर्षअगाडिदेखि समयले युवाहरूको नेतृत्व खोजिरहेको थियो, जुन ०८४ मा पक्कै प्राप्त हुन्छ भन्ने अपेक्षा थियो, तर सबैलाई छक्क पार्दै ०८२ मै त्यो सम्भव भयो।

रवि लामिछानेज्यूले अस्ति सदनमा नव–निर्वाचित सांसदहरूलाई दिएको गहकिलो र परिपक्व भाषण सुनेपछि अब देशले नयाँ काँचुली फेर्दैछ भन्ने महसुस हुन थालेको छ।

उक्त भाषणमा “हामी यहाँसम्म आइपुग्नका लागि पुराना राजनीतिक पार्टीहरू र पुराना नेताहरूको ठूलो योगदान छ, त्यसलाई हामीले बिर्सनु हुँदैन। उहाँहरूले इतिहास बनाउनुभयो, अब हामी भविष्य बनाउँछौँ” भन्ने अभिव्यक्तिलाई जनताले अत्यन्त परिपक्व र बौद्धिक रूपमा लिएका छन्।

रास्वपाले कुनै पनि कार्य गर्दा आवेशमा नआई, प्रतिशोधको भावना नराखी, जोशमा होस नगुमाई संयमका साथ अघि बढ्ने स्पष्ट देखिन्छ।

सदियौँदेखि महाअमानवीय, महाअन्याय र महाअत्याचार सहँदै आएका तथाकथित दलित समुदायप्रति सम्मान प्रकट गर्दै रवि लामिछानेले सदनमै माफी माग्नु एउटा उदाहरणीय तथा अनुकरणीय कार्य हो।

यो विषयलाई भारतीय सदनमा समेत प्रशंसा गरिएको छ।
रविले यसरी माफी मागेको देख्दा मलाई पनि माफी माग्नुपर्छ भन्ने भावना आयो।

मैले छुवाछुतको प्रथालाई कहिल्यै स्वीकार गरेको छैन। सबै जात–जाति र भाषा–भाषीलाई सम्मान गर्दै समान व्यवहार गर्दै आएको छु। तर मेरो परिवार वा पुर्खाबाट यस्ता अपमानजनक व्यवहार भएको हुन सक्छ। त्यसका लागि आफ्ना दुवै कान समातेर म माफी माग्दछु।

मलाई लाग्छ—यो असभ्य, अधर्मी, अमानवीय र मूर्खतापूर्ण चलनबाट माथि उठेर सबै नेपालीहरूले तथाकथित दलित समुदायसँग सामूहिक रूपमा माफी माग्न सके हाम्रो समाज कति सभ्य, कति मानवीय र कति सुन्दर हुन्थ्यो होला!

अझ लाग्छ—‘दलित’ र ‘अछुत’ जस्ता शब्दहरू जबसम्म जीवित रहन्छन्, तबसम्म मानिसहरूको दिमागमा विभाजनका भावना पनि सक्रिय रहिरहन्छन्। त्यसैले यस्ता शब्दहरूको प्रयोग नै बन्द हुने वातावरण बनाउनुपर्छ।

एउटा समुदायलाई नै चोट पुग्ने गरी होच्याएर आफूलाई ठूलो ठान्नु लाजमर्दो, अविवेकी र मूर्खता हो।

कवि दुर्गालाल दाइले लेख्नुभएको हाम्रो टेलिचलचित्र “१५ गते” को गीतका यी पंक्तिहरू सम्झना आउँछन्:

“सय थरि बाजा एउटै ताल,
सय थरि गोडा एउटै चाल,
मेची–काली सिंगै ढक्को साझा हाम्रो ज्यान नेपाल”

“चोट मलाई पर्दा दुख्छ भने यदि तिम्रो ज्यान,
त्यही हो, त्यही हो नेपालीको राष्ट्रियताको मूल निशान।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.