एनआरएनए टोली र अर्थमन्त्री वाग्लेबीच महत्वपूर्ण भेट: लगानी र विकासमा सहकार्यको नयाँ संकेत
काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय टोलीले अर्थमन्त्री स्वर्णिम वाग्ले सग सौहार्दपूर्ण भेटघाट गरेको छ।
हेमराज शर्मा ज्युको नेतृत्वमा भएको उक्त भेटमा संस्थापक अध्यक्ष उपेन्द्र महतो , पुर्व अध्यक्ष डा. बद्री केसी , कोषाध्यक्ष कृष्ण तिमिल्सिना , एनआरएन विकास कोषका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई तथा उपाध्यक्ष रोजीना प्रधान राई सहितको सहभागिता रहेको थियो।
भेटमा गैरआवासीय नेपालीहरूको लगानी अभिवृद्धि, एनआरएन विकास कोषमार्फत नेपालको विकास आयोजनाहरूमा सहकार्य तथा प्रवासी नेपाली समुदायको पूँजी, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक विकासमा प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा सकारात्मक र सार्थक छलफल भएको जानकारी दिइएको छ।
उक्त अवसरमा विश्वभर रहेका नेपालीहरूको सहकार्य नेपालको आर्थिक समृद्धिका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको थियो। साथै, नेपाल सरकार र प्रवासी नेपाली समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै विकास र समृद्धिको साझा लक्ष्य हासिल गर्ने अपेक्षा गरिएको छ।