काठमाडौं — विश्वप्रसिद्ध टाइम म्यागेजिनले सार्वजनिक गरेको सन् २०२६ का १०० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह समावेश भएका छन्। बुधबार प्रकाशित उक्त सूचीमा उनलाई युवा नेतृत्वको प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा समेटिएको हो।
टाइम म्यागेजिनले शाहले युवा आन्दोलनको बलमा परम्परागत राजनीतिक नेतृत्वलाई चुनौती दिँदै देशको नेतृत्व सम्हाल्न सफल भएको उल्लेख गरेको छ। काठमाडौं महानगरपालिकाको मेयरबाट राष्ट्रिय नेतृत्वसम्मको उनको यात्रा उल्लेखनीय रहेको म्यागेजिनले जनाएको छ।
साथै, सामाजिक सञ्जालमा उनले विगतमा व्यक्त गरेको धारणा—“पुराना र नयाँ सबै नेता चोर हुन्”—लाई उद्धृत गर्दै टाइमले लेखेको छ कि नेपाली जनता अहिले उनले आफ्नै भनाइलाई व्यवहारबाट गलत साबित गर्ने अपेक्षामा रहेका छन्।
टाइम म्यागेजिनले हरेक वर्ष विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरूको सूची सार्वजनिक गर्दै आएको छ, जसमा विश्वभरका नेताहरू, कलाकारहरू, उद्यमीहरू र अभियन्ताहरू समेटिन्छन्।